लुम्बिनी

पाँच वर्षमा नगरभर बाह्रै महिना चल्ने सडक पुर्याइने

२२ साउन, रुकुमपश्चिम । रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाले पाँच वर्षमा नगरका सबै वडामा बाह्रै महिना सञ्चालन हुने सडक पुर्याउने लक्ष्य लिएको छ । अहिले भएका सडकको स्तरवृद्धि तथा सडक पुग्न नसकेका ठाउँमा नयाँ ट्र्याक खोलेर अबको पाँच वर्षभित्रमा नगरभरमा बाह्रै महिना सञ्चालन हुने सडकको पहुँच विस्तार गर्ने नगरपालिकाले लक्ष्य लिएको हो ।

जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहका रूपमा रहेको आठबीसकोटले आगामी २०८२ सम्म नगरका १४ वटै वडामा बाह्रै महिना सञ्चालन हुने सडकको व्यवस्था गर्ने गरी काम गरिरहेको जनाएको छ । यसका लागि ७८ किलोमिटर सडक स्तरोन्नति, १५० मिटर पुल निर्माण, ५५ मिटर कजवे र ३० किलोमिटर नयाँ सडक निर्माण गर्न आवश्यक रहेको नगरपालिकाको भनाइ छ ।

नगरभर बाह्रै महिना सञ्चालन हुने सडक पुर्याउ रु एक अर्ब बजेट आवश्यक पर्ने देखिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । “अबको पाँच वर्षभित्रमा नगरपालिकाका सबै वडामा बाह्रै महिना सञ्चालन हुने स्तरीय सडक निर्माणको लक्ष्य लिएका छौँ”, उनले भने, “यसका लागि एक अर्ब बजेट आवश्यक पर्ने देखिएको छ, यसको व्यवस्थापनका लागि प्रदेश तथा सङ्घीय सरकारमा पहल गरिरहेका छौँ ।”

नगरपालिका भए पनि अझै नगरका सबै वडामा सडक पुगेको छैन । वडा नं ३ र २ मा सडक पुगेको भए पनि सहज पहुँच छैन भने वडा नं १ मा सडक नै पुगेको छैन । नगरका अधिकांश सडक हिउँदयाममा सञ्चालन हुने भए पनि बर्खायाममा भने अवरुद्ध हुने गरेका छन् । हिउँदयाममा केही महिना सञ्चालन हुने सडक बर्खायाममा पहिरो तथा खोलामा पुल नहुँदा अवरुद्ध हुने गरेका हुन् ।

ट्र्याक खोलिएका सडकको स्तरोन्नति र सडक नपुगेका ठाउँमा सडक पु¥याएर बाह्रै महिना सञ्चालन गर्ने काम चुनौतीपूर्ण भए पनि लक्ष्य पूरा गर्न लागिपरेको नगरप्रमुख केसीको भनाइ छ । सडकमा पर्ने दर्जनौँ खोलामा पुल छैनन् भने सडकमा पहिरो झर्ने, खाल्डाखुल्डी पर्नेलगायतका समस्या छन् । हरेक वर्षको वर्षायाममा नगरवासीले भरपर्दो यातायात सेवा पाउन सकेका छैनन् । भरपर्दो यातायात सेवा नहुँदा बर्सेनि नगरवासी जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्न बाध्य छन् ।