खेलकुद

दृष्टिविहीन तीन महिला क्रिकेट खेलाडी सम्मानित

२२ साउन, काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट सङ्घले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेका छन् ।

सङ्घले बुधबार आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा तीनै जनालाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो । तीनै जनालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको सङ्घले जनाएको छ ।

सम्मानित हुने भट्टराई नेत्रहीन राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत हुन् । उनले डेढ दशकदेखि नेत्रहीन क्रिकेट खेल्दै आएकी छिन् । सङ्घले हरेक वर्ष साउन २२ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।

मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।