पु.समाचार

पर्सामा थप ४३ मा कोरोना पुष्टिः डाक्टर, बैंक कर्मचारी र सेना संक्रमित

२२ साउन, काठमाडौं । पर्सामा आज बिहानै ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय कोरोनाको ईपिसेन्टर बन्दै गएको पर्सामा आज ६ महिला र ३७ पुरुष सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा नेपाली सेना, चिकित्सक, बैंकका कर्मचारीमा कोरोना देखिएको हो ।

बिहीबार संक्रमण पुष्टि हुनेमा वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ र वीरगन्ज कारागारमा कार्यरत ७ गरी १२ जना रहेका छन् । वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत २८ बर्षका एक पुरुष कर्मचारी र नारायणी अस्पतालमा उपचाररत मृगौला रोगी वीरगन्ज –१० की ३५ बर्षिया महिला पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्ष देखि ७३ वर्षसम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका २ का २७ बर्षिय एक पुरुष , पोखरिया नगरपालिका ६ का ३३ बर्षिक एक पुरुष र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा कार्यरत ३० बर्षिय एक पुरुषसमेतमा संक्रमण पुष्टि भएको हो ।

साथैबाराको देवताल गाँउपालिका घर भएका ३३ बर्षका एक पुरुष, बाराकै प्रसौनी २ घर भएकी ७३ बर्षिया एक वृद्घा , रौतहट मौलापुरका २७ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला घर भएका ३७ बर्षका एक चिकित्सकमा पनि संक्रमण पु्ष्टि भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिएका छन् ।

नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए । साउन यता मात्रै ५९९ संंक्रमित थपिएको उनले बताएका छन् ।