अन्तर्राष्ट्रिय

फ्रान्सका राष्ट्रपति आकस्मिक रूपमा लेबनान जाने

एजेन्सी । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्ने भएका छन् ।

लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उनले बिहीबार लेबनानको भ्रमण गर्न लागेको जनाएका छन् ।

राष्ट्रपतिको कार्यालयले भनेको छ, “राष्ट्रपति म्याक्रोन बिहीबार लेबनान जानुहुनेछ र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नेछन् ।” उनको यो भ्रमण आकस्मिक भएको र छिमेकीको रूपमा एउटा देशले अर्को देशप्रति देखाउने सहानुभूतिका लागि हुन लागेको अधिकारीहरूको भनाइ छ ।

लेबनानको राजधानी बेरुतमा मङ्गलबार राति अबेर भएको शक्तिशाली विस्फोटनको घटनामा परी एक सयभन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी अरू चार हजारभन्दा बढी घाइते भएका कारण बेरुतका सवै जसो अस्पताल खचाखच भरिएको समाचारमा जनाइएको छ ।

बेरुतका अधिकारीका अनुसार बेरुत सहरका झण्डै आधा घरमा क्षति पुगेको छ । अहिले लेबनान र मध्यपूर्वी देशहरू नै त्रसित अवस्थामा रहेका छन् ।

घटनाका बारेमा संसारभरिबाट आलोचना भइरहेको छ भने कतिपयले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन् ।