गण्डकी प्रदेश

पिसिआर मेसिन खरिद गर्ने निर्णय कागजमै सीमित

२१ साउन, दमौली । तनहुँका स्थानीय तहका प्रमुखसहितको गत जेठ २८ गते बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेसिन खरिद गर्ने निर्णय ग¥यो । त्यतिबेला जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टिनमा भारतलगायतबाट आएर बसेका ६७८ नागरिक थिए ।

त्यसबेला जिल्लाबाट विभिन्न स्थानीय तहको क्वारेन्टिनमा रहेका ३५४ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । प्रदेशभरिको स्वाब पोखरामै परीक्षण हुने भएकाले पालो पाउनै मुस्किल थियो । स्वाबको रिपोर्ट आउनै १५–२० लाग्थ्यो । रिपोर्ट आउन ढिलाइ भएपछि केही क्वारेन्टिनमा बसेका आन्दोलित समेत बने ।
स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता रहेको त्यो बेला राम्रो निर्णय भन्दै प्रशंसा भयो । पिसिआर मेसिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले बेहार्ने निर्णय भएको थियो । सोही बमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, ब्यास नगरपालिका, भीमाद नगरपालिका र भानु नगरपालिकाले रु १२/१२ लाख, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिकाका र घिरिङ गाउँपालिकाले ९/९ लाख र देवघाट गाउँपालिकाले ५ लाख बजेट सहयोग गर्ने निर्णय भएको थियो ।

तर निर्णय भएको डेढमहिना कटिसक्दा पनि उक्त निर्णय कागजमै सीमित भएको छ । बैठकको समन्वय गर्नुभएका म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पिसिआर मेसिन खरिदको सम्पूर्ण जिम्मेवारी शुक्लागण्डकी नगरपालिकालाई दिइए पनि मेसिन राख्नका लागि ठाउँ अभाव भएकाले ढिलाइ भएको बताए ।

“मेसिन किन्ने मात्रै भनेर भएन, उपकरण राख्ने ठाउँ नभएकाले पहिला ठाउँ तयार गरौं भन्ने सल्लाह भएको थियो,” रानाले भने, “सबै व्यवस्थापन मिलाउनुपर्ने भएकाले समय लाग्यो ।” अहिले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेकाले पिसिआर मेसिनको अब आवश्यकता पर्न सक्ने रानाले बताए ।

तर शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ भने अब जिल्लाका लागि पिसिआर मेसिनको आवश्यकता नरहेको बताए । पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेकाले जिल्लामा मेसिन राख्न नपर्ने उनले बताए । “त्यो बेला मेसिनको आवश्यकता भएकाले निर्णय त भयो, तर अब तत्कालका लागि मेसिन आवश्यक छैन,” गुरुङले भने, “अहिले त पोखराबाटै तत्कालै रिपोर्ट आइहाल्छ ।”

स्वाब सङ्कलन भएको १५–२० दिनमा पनि रिपोर्ट नआउँदा जिल्लामै मेसिन राखेर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहहरुले अग्रसरता लिए पनि अब उक्त निर्णयको आफूले औचित्य नदेखेको गुरुङ बताए ।

“अब बरु आइसोलेशन र क्वारेन्टिनको क्षमता वृद्धि गर्नेतर्फ सोच्नुपर्ने हुन्छ, विद्यालयमा क्वारेन्टिन नराख्ने निर्णय भएकाले सामुदायिक भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्छ”, उनले भने । चाडपर्व नजिकिँदै आइरहेकाले विदेशबाट सर्वसाधारण फर्किने क्रम बढ्ने भएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको गुरुङले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार मङ्गलबारसम्म जिल्लाबाट पठाएका १८ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश परीक्षण प्रयोगशालामा मेसिन थप गरेकाले आजभोलि छिट्टै रिपोर्ट आउन थालेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । जिल्लामा १८३ जनालाई कोरोना सङ्क्रमण भएकामा १६४ जना निको भएका छन् । स्थानीय तहका क्वारेन्टिनमा अब ८७ जना छन् ।
गाँजासहित दुई युवा पक्राउ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ पसलेबाट गाँजासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको साविक भुक्सिङ गाविस–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका– १४ मझरीपाटन बस्ने १९ वर्षीय आशिष गुरुङ र धम्पुस बस्ने २३ वर्षीय सगुन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मोटरसाइकलमा दमौलीबाट पोखरातर्फ जाँदै गरेका उनीहरुको साथबाट प्रहरीचौकी थर्पुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ८१० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“शङ्कास्पद रुपमा पोखरातर्फ जाँदै गरेका उनीहरुलाई तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा आशिषले बोकेको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद भएको छ,” प्रनाउ तिमिल्सनाले भने,“उक्त गाँजा खरिद बिक्री कारोवारमा दुबै जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” पक्राउ परेका दुई जनाविरुद्ध जिल्ला अदालत तनहुँमा लागुऔषध गाँजा मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।