प्रदेश 1

धरानमा पनि आज राति १२ बजेबाट एक सातका लागि लकडाउन हुँदै

२१ साउन काठमाडौं । सरकारले लकडाउन हटाएपछि कोरोना संक्रमण तिब्र वृद्धि भएको र समुदाय स्तरमै फैलिएपछि विभिन्न स्थानमा लकडाउन गरिरहेको छ ।

यसै क्रममा कोरोना संक्रमण फैलिएको अनुमान गर्दै धरानमा आज राति १२ बजेदेखि लकडाउन गरिँदै छ । आज राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि लकडाउन गर्न लागिएको हो ।

धरान उपमहानगरपालिकाको आज बसको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिएकी छिन् ।

उनले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताइन । योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ । उपमेयर सुवेदीले समुदायमा संक्रमण फैलिएको यकिन गर्न ५ सय बढीको परीक्षण गर्ने तयारी रहेको जनाइन् ।

पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्थानिय त्रसित बनेका छन् । जसका कारण संक्रमण समुदायमै फैलिएको हो कि भन्ने अनुमान गरिएको हो ।