समाचार

प्यूठानमा मुर्दाघर तथा शवदाहस्थल निर्माण

२० साउन, झिमरुक । प्यूठान नगरपालिका–२ स्थित झिमरुक नदी किनारमा झिमरुक मुर्दाघर तथा शवदाहस्थल निर्माण गरिएको छ ।

वडा नं २ का वडाध्यक्ष खिमबहादुर बिष्टको स्मृतिमा मुर्दाघर तथा शवदाहस्थल निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा प्यूठान नगरपालिका र वडा कार्यालयबाट बजेट विनियोजन गरी संरचना निर्माण गरिएको निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष कमला आचार्यले बताए । वडा कार्यालयको सात लाख ५० हजार, प्यूठान नगरपालिकाको पाँच लाख र जनश्रमदान तीन लाख १२ हजार २१८ गरी कूल पाँच लाख ६२ हजार २१८ लागतमा उक्त संरचना निर्माण गरिएको अध्यक्ष आचार्यले बताए ।

स्थानीयवासी मुक्तिप्रसाद शर्माले दिएको एक रोपनी जग्गामा दुईकोठे मुर्दाघर र शव जलाउनका लागि दुई स्थानमा शवदाह पीठ निर्माण गरिएको छ । गत जेठ १५ गते निर्माण सम्झौता गरी असार मसान्तमा काम सम्पन्न गरेको आचार्यको भनाइ छ ।

मुर्दाघर तथा शवदाह पीठ निर्माणले शव बाटोमै राख्ने अवस्थाको अन्त्य हुने उपभोक्ता समिति अध्यक्ष आचार्यले बताए । अबका दिनमा मृतकको शवलाई सवारीसाधनमा लगेर मुर्दाघरमा राख्न सकिनेछ ।