बाग्मती

पाँचखालमा बृहत् खानेपानी आयोजना

२० साउन, काभ्रेपलाञ्चोक । पाँचखाल नगरका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ आयोजना कार्यान्वयनको चरणमा रहेको छ । सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग अढाई वर्षमा निर्माण सक्ने सम्झौता भइसकेको छ ।

आयोजना सम्पन्न गर्न गत असार १६ गते खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका तथा उपभोक्ता समितिबीच आयोजना व्यवस्थापन सम्झौता भएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई बिल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले सम्पन्न गर्नेछ । परियोजनाको २०७६ साल भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना कार्यान्वयनको प्रारम्भिक चरणको काम भइरहेको आयोजना निर्देशक विद्यानाथ भट्टराईले बताए । उनले खानेपानी आयोजनाको सरोकारवाला पक्षका इन्जिनीयरले संयुक्त रुपमा सम्पूर्ण सर्वेको कामको प्रक्रिया थालिएको, विभिन्न स्थानको निर्माण सामग्रीको प्रयोगशाला परीक्षण भइरहेको र अढाई वर्षको ‘वर्क प्लान’ बनिरहेको जानकारी दिए । उनले भने, “निर्माण कम्पनीसँग आयोजनाका लागि कामदार जुटाउने प्रक्रियाबारे छलफल भइरहेको छ ।”

निर्देशक भट्टराईले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण मजदूरको स्वास्थ्य–सुरक्षासहित आवास तथा दैनिक स्वास्थ्य जाँचको प्रबन्ध गर्न तथा भौतिक दूरी कायम गरी निर्माण थाल्न आयोजना र निर्माण कम्पनीसँग छलफल भइरहेको बताए । “कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमबीच मजदूरको स्थानान्तरणका लागि विशेष पहल भइरहेको छ”, उनले भने । सो खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माणसम्पन्न गरिने लक्ष्य लिइएको हो । हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो । आयोजना सम्झौताको सर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् ।

खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पु¥याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भइरहेको तथा निर्माण कम्पनी बस्न पाँचखालमा घरको खोजी भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । परियोजनाबाट पाँचखाल नगरको १, ५ र १३ वडा बाहेकका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।