लुम्बिनी

विस्फोट गराउने अभियुक्त ९ वर्षपछि पक्राउ

२० साउन, राँझा । सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधार लगायतका कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ/छ महिना कैद र पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ साल चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फरार अभियुक्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ । सोही अभियानकै क्रममा राढलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।