प्रदेश 2

फेरियो दलितको दिनचर्या

२० साउन, जलेश्वर । वर्षौंदेखि भातभान्छा गर्न माटाका चुलोमा आगो बाल्ने र भाँडा बसाल्ने काम गर्दै आएका महोत्तरी जलेश्वरका दलितको दैनिकी फेरिएको छ । धुवाँले उनीहरुका भतभती पोलेका आँखा र आगोका रन्कोले अँध्यारा भएका अनुहार मात्र बदलिएका छैनन् ,उज्याला मन र सग्ला आँखाले उनीहरुले सहज जीवन बाँच्ने अभ्यास गर्न थालेका छन् ।

निम्न आय भएका दलितलाई वडा कार्यालयले ग्यास सिलिन्डर तथा चुलो निःशुल्क वितरण गरेपछि उनीहरुको दिनचर्चा फेरिएको हो । कार्यालयले यसै साता १९ लाखको लागतमा २०० घरमा ग्यास सिलिन्डर र चुलो वितरण गरेको हो । वडाका बासिन्दाले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँले श्वासप्रश्वास, दम र क्षयरोगलगायत रोग लाग्ने गर्छ । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई दृष्टिगत गर्दै ग्यास बाँड्ने काम भएको कार्यालयले जनाएको छ ।

जलेश्वर–२ का वडाध्यक्ष वरुणकुमार दाहालले गृहिणीको स्वास्थ्य राम्रो बनाएकाले कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । वडाका अधिकांश नागरिकका जीविकोपार्जन खेती किसानी र ज्याला मजदूरीबाट हुन्छ । दैनिक ज्याला मजदूरी गरी साँझबिहानको रासन जोहो गर्नुपर्ने यहाँका अधिकांश नागरिकले दाउरा तथा गोबरको गुइँठा बालेर नै गुजारा गर्दै आएका थिए ।