बाग्मती

होम क्वारेन्टाईनमा बसेका एक व्यक्तिको मृत्युः कोरोना परिक्षण गरिँदै

२० साउन, काठमाडौं । होम क्वारेन्टाईनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । यद्यपि मृतक व्यक्तिमा कोरोना भए–नभएको पुष्टि हुन बाँकी छ । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टाईनमा बसेका ३५ वर्षका पुरुषको मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिएका छन् ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

उनको शवको व्यवस्थापनको विषयमा स्वास्थ्यकर्मीहरुसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिएका छन् ।