पु.समाचार

लकडाउन खुलेसंगै कोरोना संक्रमीत वढेपछि प्रधानमन्त्री ओलीले विज्ञसँग परामर्श गर्दै

२० साउन काठमाडौं । लकडाउनको मोडालिटिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञसंग सामुहिक परामर्श गर्दैछन् । मुलुकमा लकडाउन खुलेयता कोरोना संक्रमीतको संख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री ओलीले आज चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिसंग छलफल गर्ने भएका हुन् ।

मुलुकमा जारी लकडाउ खुलेसंगै संघीय राजधानी काठमाडौंं सहित देशभर संक्रमण तिब्र रुपमा बढेपछि प्रधानमन्त्रीले संक्रमण कसरी रोक्न सकिन्छ ? भन्नेबारे विज्ञसँग सामूहिक परामर्श गर्न लागेका हुन् । बिहान ११ बजे २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्बत्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न विज्ञलाई बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ ।