पु.समाचार

कोरोना संक्रमीत बढेपछि सप्तरीमा आजदेखी २६ गतेसम्म निषेधाज्ञा जारी

२० साउन, काठमाडौं । कोरोना संक्रमण बढेपछि प्रदेश नम्बर दुईको सप्तरीमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको सङ्ख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरसहित जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीको निषेधाज्ञा आदेशमा भनिएको छ ।

निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैङ्किङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवारस्थलहरूमा अनावश्यक आवतजावत, हिँडडुल नगर्न, नगराउन भनिएको छ ।