पु.समाचार

पोल्याण्ड पठाउन र अमेरिकामा कम्पनी खोल्छु भनी ठग्ने दुई पक्राउ

१९ साउन, काठमाडौं । नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

अमेरिकी पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले कोटेश्वरका टुकनारायण श्रेष्ठको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गरिदिन्छु भनी रु १० लाख ठगी गर्ने अमेरिकाका ६५ वर्षीय डेनियल ली मेगीलाई आइतबार क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता कार्कीले बिजनेस भिसामा अमेरिका लाने भनेर सुजन थापा र सन्दीप कार्कीलाई प्रतिव्यक्ति रु पाँच लाख ठगी गर्ने प्रयास गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए । अभियुक्त मेगीले अरू व्यक्तिलाई पनि ठगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।