बाग्मती

काम गरे बजेट अभाव हुँदैनः मन्त्री लामा

१९ साउन, भरतपुर । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रमा काम गर्नेहरुका लागि बजेटको अभाव नहुने बताएका छन् । चितवनको राप्ती नगरपालिका–७ गुणगाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले निर्माण गरेको थ्रेसिङ फ्लोर ओपन (सेड) को उद्घाटन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रममा उनले प्रतिफल दिने सहकारी संस्था र किसानलाई सरकारले निरन्तर सहयोग गर्ने बताए ।

उनले काम गर्नेले विस्तृत योजनाका साथ मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरे । उनले पछिल्ला तीन वर्षमा कृषि क्षेत्रमा उल्लेख्य काम भएको बताए। देशमा उत्पादन बढाउन बीउको संरक्षण गर्नुपर्नेमा उनको जोड छ । सहकारीले स्थानीय जातका बीउबिजनको संरक्षण गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने मन्त्री लामाले बताए ।

मन्त्री लामाले चितवनको राप्तीमा दुग्ध उत्पादनका लागि ठूलो उद्योग स्थापनाको तयारी भइरहेको बताए । उनले प्रदेश सरकारले यस वर्षदेखि अनुदानका कार्यक्रममा परिवर्तन ल्याएको जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले प्रदेश सरकारका कामले परिणाम दिन थालेको बताए । उनले जनचाहनाअनुरुपका कार्यक्रम ल्याएकाले त्यसलाई कार्यान्वयन गराउन सबैले साथ दिनुपर्ने धारणा राखे । कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले नगरलाई कृषिमा आत्मनिर्भर बनाइएको बताए । उनले नगरपालिका अन्नको भण्डार रहेकाले अन्य जिल्लामा पनि निर्यात भइरहेको जानकारी दिए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई थ्रेसिङ फ्लोर ओपन (सेड) निर्माण र कृषि यन्त्र उपकरण खरिदका लागि प्रदेश सरकारले ५० र राप्ती नगरपालिकाले २० प्रतिशत सहयोग गरेका हुन् । ३० प्रतिशत संस्थाको लागत सहभागिता रहेको छ ।

सहकारीले थ्रेसिङ फ्लोर ओपन (सेड) सँगै ट्र्याक्टर, गहुँ, मकै र धानको थ्रेसर, टेलर, धान काट्ने रिपर, सुथरी बोरा १० हजार थान र हर्मेटिक ब्याग एक हजार थान अनुदान सहयोगमार्फत खरिद गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि पौडेलले जानकारी दिए । उनले सानो पूँजीबाट शुरु भएको सहकारीले सयौँ किसानलाई सेवा प्रदान गरिरहेको बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले सहकारीसँग सहकार्य शुरु भएको भन्दै यसलाई निरन्तरता दिइने बताए । कोरोनाको कहरका समयमा पनि काम सम्पन्न गरिएको बताए। कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना, नगर उपप्रमुख इमानसिंह लामा लगायतको उपस्थिति रहेको थियो ।