बाग्मती

पुल निर्माण सम्पन्नः आवतजावतमा सहज

१९ साउन, काठमाडौँ । काठमाडौँको टोखामा तीन करोड २३ लाख ३६ हजार लागतमा मनोहर तीर्थ पुल निर्माण भएको छ ।

टोखा नगरपालिकाको दुई करोड ९६ लाख तथा वाग्मती प्रदेशको २७ लाखको लागतमा टोखा नगरपालिका–८ र ११ जोड्ने उक्त पुलको आज टोखाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे ।

कार्यक्रममा नगरप्रमुख अधिकारीले उक्त पुल निर्माणसँगै झोर, साङ्ला, फुटुङ र नुवाकोट आवतजावतमा सहज भएको बताए । “टोखा नगरपालिकालाई विकास र समृद्धि बनाउने लक्ष्यअनुसार विकासनिर्माणका कामलाई प्राथमिकता दिएका छौँ,” उनले भने ।

मनोहर तीर्थ पुल स्थानीय तहको गौरव गर्न लायक योजना भएको उनको भनाइ छ । पछिल्लो समय टोखाले सडक कालोपत्र, पुल निर्माण, खानेपानी, ढल व्यवस्थित बनाउने काम गर्दै आएको छ । टोखाले चाँडै नै बाँनियाटार र मेरिगोल्ड पुलसमेत निर्माण गर्दैछ ।

विसं २०७६ जेठमा एएनएस र केएम जेविसँग सम्झौता गरेर असारमा शिलान्यास भएको उक्त पुल एक वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५ मिटर छ ।