पु.समाचार

मेलम्ची पहिरोः बेपत्ता आठै जनाको शव भेटियो, (अपडेट)

१९ साउन काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा रहेको मेलम्ची बजारमा मध्यराति पहिरो खस्दा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ ।

बजारको पिपलबोट नजिकै कभर्ड हल निर्माण भइरहेको ठाउँमा पहिरो खस्दा सोमवार राती ८ जना बेपत्ता भएका थिए । सडक नजिकै रहेको टहरोमा पहिरो खस्दा पुरिएका ८ जनाकै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

मृत्यु हुनेमा ६ जना सिमराका, एक जना भारतीय र एक जना वीरगंजका रहेका छन् । मृतक ४२ वर्षीय राजेन्द्र चौरासिया भारतीय नागरिक हुन् भने ३५ वर्षीया प्रदीप चौरासीया वीरगंजका हुन् । २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामाको पनि पहिरोमा परी मृत्यु भएको छ। मृतक ६ जना बारा सिमराको रहेको प्रहरी निरीक्षक तामाङले बताए ।

अर्का एक जना भारतीय नागरिक बारु साहलाई भने उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल पठाइएको तामाङले जानकारी दिए ।