प्रदेश 1

जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ

दमौली, १९ साउन । विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो ।

म्याग्दे गाउँपालिका–३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई निजहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले निजहरुविरुद्ध जनही एक वर्ष कैद र रु ३०० जरिवानाको फैसला गरेको थियो । निजहरुले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र रु ३०० जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–७ बस्ने नवीनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएकोे छ । उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र रु एक हजार जरिवानाको फैसला गरेको थियो । उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ । गतअसार तेस्रो सातादेखि मात्रै जिल्लामा २३ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् ।

सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।