समाचार

पर्सामा पत्रकार, प्रहरी सहित ७३ जनामा कोरोना संक्रमण पुष्टि

१९ साउन, काठमाडौं । कोरोनाको ईपिसेन्टर बन्दै गईरहेको प्रदेशनम्बर २ मा दैनिक रुपमा संक्रमीत थपिँदै गएका छन् । सर्वसाधारण देखी चिकित्सक, सुरक्षाकर्मी, स्वास्थकर्मी र पत्रकारहरुमा संक्रमण देखिरहेको छ । भने मृतकको संख्या पनि वढ्दो क्रममा छ । यस्तै पर्सामा पत्रकार र प्रहरी सहित ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परिक्षणमा ३६ जना नयाँ संक्रमीत थपिएका हुन् । यसअघि आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका– १२ का वडाध्यक्षसहित ३८ जनामा कोरोना पुष्टि भएको थियो । यो दुबै गरेर आईतबारमात्रै पर्सामा ७३ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार आइतबार मात्र पर्सामा ७३ नयाँ संक्रमित थपिएका छन् । राति संक्रमण पुष्टि हुनेमा वीरगन्जका ३९ वर्षीय पत्रकारसमेत रहेका छन् । विगत दुई दिनदेखि ज्वरो आएपछि गत शनिबार उनले स्वाब परीक्षणका लागि दिएका थिए ।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरका ३ जना प्रहरीसमेत रहेका छन् । संक्रमित थुनुवाको सम्पर्कमा आएपछि गत साउन १३ मा वडा प्रहरी कार्यालयमा स्वाब संकलन गरिएको थियो । डा.सिंहका अनुसार ३५ जना नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा पोजिटिभ भेटिएका छन् । ३५ संक्रमितमध्ये १९ जना वीरगन्ज महानगरपालिका ११ श्रीपुरका बासिन्दा हुन् ।

आइतबार साँझको परीक्षणमा सोही वडामा २७ जना र शनिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । वडा नम्बर ११ का अध्यक्ष प्रदुम्न सेढाईंका अनुसार गत साउन १५ मा भएको भएको मास ट्रेसिङमा २ सय ५२ जनाको स्वाब संकलन भएको थियो जसमध्ये २५ जना कन्टयाक्ट ट्रेसिङका थिए । वीरगन्ज महानगरपालिका ९ स्थित रेल्वे स्कुलमा गत साउन १३ मा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । साउन यता पर्सामा ४ सय २५ नयाँ संक्रमित थपिएका छन् ।