पु.समाचार

थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी

१८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा झण्डै दुई लाख जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध भएको छ । खानेपानी मन्त्रालयका अनुसार सो आवमा कूल १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्याले मध्यम तथा उच्चस्तरको खानेपानी सेवा प्राप्त गरेका हुन् । यस्तै कूल २४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसङ्ख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६र७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा आज भएको समीक्षा बैठकमा मन्त्रालय मातहत विभिन्न निकायले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि सहभागी थिए ।

समीक्षा बैठकमा मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको सहसचिव अरुण सिंखडाले जानकारी दिए । खानेपानी तथा ढल व्यवस्थापन विभागको समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी दिइएको थियो । खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासको भनाइ छ ।

मेलम्चीको प्रगति ९३ प्रतिशत

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।

त्यस्तै गत आवको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा गरी छ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्रसम्मको वितरण पाइप तथा वाग्मती नदीसम्मको वास आउट पाइप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको बैठकमा जानकारी दिइयो । त्यस्तै काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको छ । आव २०७६÷७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये छ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् ।

तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० जनसङ्ख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनामध्ये चार सम्पन्न भई करिब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए ।

त्यस्तै जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ३१ हजार ४४५ जनसङ्ख्या लाभान्वित भएको खानेपानी विभागको भनाइ छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको छ ।

मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिअन्तर्गत गत आवमा २३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार ७०४ जनसङ्ख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताए । समीक्षा बैठकमा खानेपानीमन्त्री मगरले खानेपानी तथा सरसफाइको क्षेत्रमा दीर्घकालीन कार्ययोजना तयार गरेर मन्त्रालय अघि बढेको बताए । “गत आवमा हामीले महत्वपूर्ण उपलब्धि हासिल ग¥यौँ”, उनले भने, “चालु आव हाम्रा लागि चुनौती र अवसरको हुनेछ ।”

उनले मन्त्रालयको समग्र भौतिक प्रगति राम्रै भए पनि लक्ष्य पूरा गर्न अझै मेहनत गर्नुपर्ने र त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय गर्नु जरुरी रहेको बताए । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले औँ योजनाका लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखले अझै मेहनत गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव माधव बेल्बासेले गत आवमा राम्रो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले लिएको ‘एक घर एक धारा’ को नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर आफूहरु लागिपरेको बताए ।