शिक्षा

विद्यालयमा वान्तवा भाषाको पठनपाठन हुने

१८ साउन, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयहरुमा राई वान्तावा भाषाको पठनपाठन हुने भएको छ । गाउँपालिकावासी अधिकांश राई वान्तावा रहेकाले गाउँपालिकाले वान्तावा भाषामा पठनपाठन सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाले सातौँ गाउँसभाको नीति तथा कार्यक्रममा भाषालाई प्राथमिकता दिएसँगै हतुवागढी क्षेत्रका विद्यालयमा वान्तावा भाषाको पठनपाठन शुरु गर्न बजेट विनियोजन गरेको हो । वान्तावा भाषा पठनपाठनका लागि पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

भाषा संरक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको अध्यक्ष राईले बताए। “हतुवागढी क्षेत्रका विद्यालयमा अधिकांश वान्तावा भाषी विद्यार्थी अध्ययनरत छन्, अन्य समुदायका विद्यार्थीमा पनि वान्तावा भाषा बोल्ने समस्या नहुने भएकाले पठनपाठन थप सहज हुनाका साथै भाषा संरक्षणमा सहयोग हुने आशा लिएका छौँ”, अध्यक्ष राईले भने ।

बजेट विनियोजन भएसँगै गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई आफ्नो विद्यालयमा भाषा कक्षा पढाइ हुने सम्भावनाबारे गाउँपालिकाको शिक्षा शाखासँग सम्पर्कमा रहन अनुरोधसमेत गरिएको छ । हतुवागढी गाउँपालिकाका अधिकांश वान्तावाले हतुवाली भाषा बोल्ने गरेका छन् । वान्तवा भाषामा हतुवाली, आम्चोके, दिल्पाली र सावाली गरी चारवटा भाषिका बोल्ने गरिएका छन् ।