पर्यटन/संस्कृति

अनलाइन स्वीमिङ कोर्स सम्पन्न, खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास

१८ साउन, काठमाडौं । नेपाल ट्राईयाथलन सङ्घको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्वीमिङ लेभल १ कोचिङ कोर्स आज सम्पन्न भएको छ ।

कोर्समा ट्राईयाथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकले सहभागिता जनाएका थिए । प्रशिक्षार्थीलाई सिङ्गापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नुभएको हो । कोभिड–१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकलाई पौडीसम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न सङ्घले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले बताए ।

प्रशिक्षक लिले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षकको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गर्नुभएको थियो । प्रशिक्षकले प्राप्त गरेको यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीको स्तरवृद्धि गर्न ठूलो सहयोग पुग्ने सङ्घले विश्वास लिएको छ ।

वल्र्ड कोचेज एकेडेमीले चीन, हङ्कङ, मलेशिया, इन्डोनेशिया, सिङ्गापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।