पु.समाचार

इनफ इज इनफका अभियान्तासंग कांग्रेस वरिष्ठ नेता पौडेलको भेट

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता ‘ई’ सँग भेट गरेका छन् । पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल बसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ‘ई’ सँग भेट गरेका हुन् । भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पुर्ण समस्याको जड भ्रष्टाचार भएको बताए ।

उनले पार्टी नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसंग खेलवाड गरेको भन्दै सरकारको हेलचेक्राई विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानका आफु र आफ्नो पार्टीको साथ रहेको बताए । नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा दिए । उनले पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नु दुर्भाग्यपूर्ण भएको पनि बताए ।

पौडेलले भने–‘जनताको स्वास्थ्यसंग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको सरकार साच्चै नै अटेरी सरकार हो । पीसीआरको दायरा बढाउ, क्वारेन्टाइन व्यवस्थित होस भनेको छ । अति नै समान्य र अति नै आवश्यक मागहरु लिएर उहाँहरु अनसन बस्नुनै दुर्भाग्यपूर्ण कुरा हो ।’

उनले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । पौडेलले १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको बताए । अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन् । यसअघि उनी पहिलो पटक ललितपुरको पटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।