कर्णाली प्रदेश

न्यायिक समितिले समन्वय नगर्दा अदालतमा मुद्दाको चाप

१८ साउन, सल्यान । जिल्ला अदालतले गत आर्थिक वर्षमा ५८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा अदालतमा पेश भएका ३८४ विभिन्न प्रकृतिका मुद्दामध्ये २२४ मुद्दा फछ्र्योट गरिएको हो ।

अदालतले गत आर्थिक वर्षमा दर्ता भएका २९९ मुद्दामध्ये १५१ मुद्दा फछ्र्योट गरेको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी आएका ८५ मुद्दामध्ये ७१ मुद्दा फछ्र्योट गरिएका छन् ।

यस्तै अदालतले मेलमिलापका लागि मेलमिलाप केन्द्रमा पठाएका ४१ मुद्दमध्ये १४ मुद्दा मेलमिलाप भइसकेका श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतले छ महिनाको अवधिमा ७९ मुद्दा फछ्र्योट गरेको छ । लकडाउनको अवधिमा खासै मुद्दाको सुनवाइ नभए पनि लकडाउनको तीन महिनाको अवधिमा ३० मुद्दा दर्ता भएका जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए ।

स्थानीय तहमा रहेका न्यायिक समितिले मुद्दामा औपचारिकता बढी खोजेकले पनि न्यायिक समितिमा निरुपण हुने मुद्दा पनि अदालतसम्म आउने गरेका न्यायाधीश पाण्डेको भनाइ छ । न्यायिक समितिको कार्यसम्पादन प्रभावकारी बनाए हरेक स्थानीय तहले कर्मचारीलाई अदालतमा खटाएर प्रक्रियाका बारेमा जानकारी लिनसक्ने उनले बताए।