सुदूरपश्चिम

सधैँको सास्ती बन्यो साँफे–मार्तडी सडक

१७ साउन, बाजुरा । छब्बीस वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरिएको साँफे–मार्तडी सडकखण्डको २२ वर्षपछि निर्माण सकिएको सडक सञ्चालनसँगै बाजुरावासीमा पलाएको खुशी धेरै नटिक्ने सङ्केत देखिएको छ । सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो जान थालेको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी सडकको निसानासमेत नदेखिने गरी सडक भासिएपछि दिगो सञ्चालनमा समस्या देखिएको छ ।

सडक कालोपत्रको काम सकिएको दुई वर्ष पनि पुगेको छैन । अझै अधिकांश स्थानमा कालोपत्र नै गरिएको छैन । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण वर्षात्मा सडक अवरुद्ध बनेको थियो । दुई वर्षदेखि नै पहिरो जाने र सडक बन्द हुने शृङ्खला चलिरहेको छ । यो वर्ष पनि असार दोस्रो साताबाटै पहिरो बगेपछि सडक अवरुद्ध भएको हो । एक महिना बढी भइसक्यो, सडक पूर्णरूपमा बन्द भएको छ । बूढीगङ्गा नगरपालिका–२ अमकोटद्वारी क्षेत्र र ताप्रीसेराबाट बल्देसम्मको एक किलोमिटर सडकको निसाना नै मेटिने गरी ठूला–ठूला पहिरो खसेको र सामान्य मर्मत गरेर सडक सञ्चालन हुने अवस्थामा नरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

ताप्रीसेराबाट अमकोटद्वारी क्षेत्रसम्मको करिब दुई किलोमिटर सडकमा यातायातका साधान नै सञ्चालन गर्न नमिल्ने गरी सडक भासिएको र सडक माथिबाट ठूला–ठूला पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको छ । यतिबेला सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली नै खटिएर मान्छेलाई सडकमाथि जङ्गल र अमकोटगाउँबाट आवतजावत गर्न भनिएको छ । अम्कोटको जङ्गल क्षेत्रलाई छिचोल्दै सर्वसाधारणले यात्रा गर्नुपर्ने बाध्यता रहेकाले तत्काल वैकल्पिक मार्ग खोजिने सुदूरपश्चिम प्रदेशका कानून तथा गृहमन्त्री प्रकाश शाहले भनेका छन् ।

यता अमकोटवासी भने हरेक वर्ष सडकको वैकल्पिक मार्ग बनाउँदा बनाउँदै पूरै अमकोटगाउँ नै जोखिममा परिसकेको बताउने गरेका छन् । धेरैजसो भाग पहिरोले बगाइसकेको छ । तलबाट बूढीगङ्गा नदीले तीव्र कटान गरिरहेका कारण गाउँ नै असुरक्षित भएको छ । अब हामी यसै ठाउँमा सडक निर्माण गर्न नदिने स्थानीय नवराज पाध्याले बताएका छन् । उनका अनुसार यदि वैकल्पिक मार्ग नै खोज्ने हो भने अमकोटगाउँको बीचबाटै लैजान अनुरोध गरेका छन् ।

अहिले पहिरोले भासिएको सडक क्षेत्रमा खतराको चिह्न लगाएर प्रहरी परिचालन गरिएको छ । लगातार त्रिवेणी नगरपालिका क्षेत्रको पैंमाको पहिरो र बूढीगङ्गा नदीको कटानले त्यस क्षेत्रमा सडक नै उच्च जोखिममा परेको साँफे–मार्तडी सडक डिभिजन कार्यालय अछामका इञ्जीनियर दमनकुमार विष्टकोे भनाइ छ । सडक पहिरोले भासिएसँगै आवतजावत पूर्णरूपमा रोकिएको छ ।

यता बडिमालिका नगरपालिका क्षेत्रमा पर्ने पानीनाउलामा पनि सडक माथिबाट लगातार पहिरो बग्न थालेपछि ज्यान जोखिममा राखेर मानिसले यात्रा गर्नुपरेको बडिमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिए । आमकोटको द्वारी क्षेत्रबाट मार्तडीसम्मको करिब १४ किलोमिटर बाटोमा तीनवटा गाडी फेर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष नाथको भनाइ छ । मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको छ । आवतजावत नै ठप्प भएको छ ।

पूरै सडक नै भासिएर बूढीगङ्गा नदीमा मिसिएर बगिसकेको छ । सडक कटानपछि नदीको धार परिवर्तन भएर बूढीगङ्गा नगरपालिको अमकोट बस्तीका साथै बडिमालिकाको पानीनाउला बस्ती पनि यतिबेला जोखिममा परेको छ । त्रिवेणीको पैंमाबाट आउने पहिरोले बूढीगङ्गा नदीलाई एक किनारा लगाएको छ । त्यसैको दबाबमा सडक क्षेत्रमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको भनाइ छ ।

सडक सञ्जाल विच्छेद हुँदा व्यापारीले खच्चर र मान्छेबाट महङ्गो भाडा तिररे सामान बोकाउनुपर्ने बाध्यता छ । गर्भवती महिला, बिरामीले यातायात नहुँदा स्वास्थ्य संस्था नपुगेरै जीवन बिताउनुपर्ने बाध्यता बाजुराका लागि नयाँ होइन, भगवान् भरोसामा बाँच्नु यहाँका जनताको वास्तविक पीडा भएको भने नागरिक समाज बाजुराका तुलाराम जैशीको भनाइ छ ।

सडक शिलान्यासको २५ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब बजेट खर्च भइसकेको छ । पहाडी क्षेत्रमा प्रतिकिलोमिटर चार करोड बजेट कालोपत्रसम्म खर्च हुने गरेको छ । यति ठूलो मात्रामा खर्च गर्दा पनि जिल्लावासीले वर्षेनी सास्ती खेप्नु दुःखद् विषय बनेको छ । आवतजावत मात्र रोकिने नभई दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यापारीको भनाइ छ ।

ग्रामीण सडक पूर्णरूपमा अवरुद्ध

लगातारको वर्षाले बाजुराका ग्रामीण क्षेत्रका कच्ची सडक एक महिनादेखि पूर्णरूपमा अवरुद्ध छन् । वर्षाले सडक हिलाम्मे भएपछि गाउँका कच्ची सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । जिल्लाको मार्तडी–कोल्टी, मार्तडी–घट्मुना, मार्तडी–डोगडीलगायतका सडक अवरुद्ध भएका छन् ।

विभिन्न गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको यातायात व्यवसायीले बताएका छन् । कच्ची सडक गाडी चलाउन नसकिने गरी हिलाम्मे भएका छन् । गाडी चलाउन निकै सास्ती भइरहेको ट्र्याक्टर चालक लालसिं कार्कीले बताए ।

सडक अवरुद्ध हुँदा गाउँगाउँमा जाने यात्रुलाई असहज हुनुका साथै ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको छ । लगातारको वर्षाले कच्ची सडकमा गाडी चल्न छाडेका छन् भने सडकभरि हिलो जम्मा भएको छ । मौसममा सुधार आउनेबित्तिकै सडक सञ्चालनका लागि डोजर परिचालन गर्ने गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।