प्रदेश 1

‘मझुवागढी रणजितमान राई खेलमैदान’को डिपिआर तयार

१७ साउन, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधीन ‘मझुवागढी रणजितमान राई खेलमैदान’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । आरसिसी कन्सल्ट प्रालिले तयार पारेको डिपिआरअनुसार १२० मिटर लम्बाइ र ८० मिटर चौडाइको फुटबल खेलमैदान २० करोड ९९ लाख ७० हजार २९३ मा सम्पन्न हुने भएको हो ।

खेलमैदानमा करिब ४० जना अट्ने मञ्च, रातका समयमा पनि खेल सञ्चालन गर्न सकिने विद्युत्को व्यवस्था, बस, कार तथा मोटरसाइकल पार्किङस्थल, गेष्ट रुम, चेन्जिङ रुम, वेटिङ रुमसहितको घर, सामान्य तथा भिआइपी शौचालय, पिउने पानीको धारालगायतका संरचना निर्माण गर्ने गरी डिपिआर तयार पारिएको वडाध्यक्ष निर्मल राईले जानकारी दिए । स्थानीय बासिन्दाले १८ रोपनीभन्दा बढी जग्गा निःशुल्क दिएपछि लफ्याङको छिवामा खेलमैदान निर्माणको काम शुरु गरिएको हो ।

वडा कार्यालयको १२ लाख ७० हजारको खर्चमा विसं २०७६ जेठ ७ गते शिलान्यास गरिएको खेलमैदानको अधिकांश सम्याउने काम सम्पन्न भइसकेको छ । खेलमैदान निर्माणको बाँकी काम पूरा गर्नका लागि स्थानीय राजेन्द्र राईको अध्यक्षतामा सात सदस्यीय आर्थिक सङ्कलन सहयोग समिति गठन गरिएको छ ।

खेलमैदानको बाँकी काम पूरा गर्नका लागि आवश्यक रकम जुटाउन आर्थिक सङ्कलन सहयोग समितिले विसं २०७६ असोज ९ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेको थियो । समितिसँगको भेटमा मुख्यमन्त्री राईले खेलमैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाइएको छ ।

अहिलेसम्म आर्थिक स्रोतको टुङ्गो नलागेको खेलमैदान निर्माणका लागि निर्माण उपभोक्ता समितिले काठमाडौँमा पुगेर देउसीभैँली खेलेको थियो । काठमाडौँको विभिन्न ठाउँमा पुगेर आयोजना गरिएको करिब रकम सङ्कलन गरेको थियो । वडा कार्यालयको आग्रहमा स्थानीय पञ्चसेर राईले नौ, सर्वजित राईले पाँच र हर्कराज राईले तीन रोपनी जग्गा वडाको नाममा निःशुल्क पास गरिदिएपछि खेलमैदान निर्माण शुरु गरिएको थियो । चन्दा सङ्कलन तथा दाताको सहयोगमा निर्माण शुरु गरिएको खेलमैदानका लागि स्थानीय बालाचन्द्र राईले पनि सात रोपनी जग्गा प्रदान गरेका छन् ।

खेलमैदानका लागि वडाकै विभिन्न स्थानमा निःशुल्क जग्गा जुटाउने क्रममा छिवाका स्थानीय जग्गा दिन तयार भएपछि मकैको बिरुवा हुर्कँदै गरेको बारीमा खेलमैदान निर्माण शुरु गरिएको थियो । निर्माणाधीन खोलमैदान दिक्तेल–खोटाङबजार सडकखण्डमा पर्ने भएकाले साकेला गाउँपालिकाका खेलाडीसमेत लाभान्वित हुने निर्माण उपभोक्ता समितिले दाबी गरेको छ ।

निःशुल्क जग्गा उपलब्ध गराएकामा जग्गादाताकै बाजे रणजितमान राईको नामबाट खेलमैदानको नामाकरण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पञ्चशेर राईले बताए। आफ्नो गाउँमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलमैदान निर्माण हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित छन् ।

पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हरेक वडामा एक÷एक वटा खेलमैदान निर्माणको काम शुरु गरिएको छ । खेलकूद क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न एक स्थानीय तह एक खेलमैदान निर्माण गर्ने प्रदेश नं १ सरकारको नीति भए पनि सो नगरपालिकाको प्रत्येक वडामा खेलमैदान भइरहेको हो ।