बाग्मती

युवालाई व्यावसायिक बनाउन नवप्रवर्तन केन्द्र

१७ साउन, काठमाडौँ । युवामा भएका सिर्जना, सोच र ज्ञानलाई उद्यमशीलतामा परिणत गरी व्यावसायिक बनाउन राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युवेसन (समप्राप्ति) केन्द्र स्थापना गर्न लागिएको छ । बेरोजगार युवामा भएको प्रतिभा प्रस्फुटन गराई व्यावसायिक बनाउन राष्ट्रिय युवा परिषद्को संयोजन तथा काठमाडौँ विश्वविद्यालय र काभ्रेको नमोबुद्ध नगरपालिकाको सहकार्यमा केन्द्र स्थापना गर्न थालिएको हो । केन्द्रमा युवालाई राखी उनीहरुमा रहेको प्रतिभा र सोचअनुसार उद्यमशीलता बनाइनेछ । केन्द्र स्थापना गर्नका लागि नमोबुद्ध नगरपालिकाको ५२ रोपनी जग्गा वडा नंं ८ मा छुट्याइसकेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले बेरोजगार युवामा रहेको प्रतिभा र सोचअनुसार प्रशिक्षित गरी उद्यमशीलता बनाइने बनाए । उनले नेपालमा पहिलोपटक बेरोजगार युवालाई लक्षित गरेर ल्याउन थालिएको परियोजना मुलुककै गौरवको आयोजना हुने बताए । “अहिले सम्मकै युवालाई स्वरोजगार बनाउने सबभन्दा ठूलो आयोजनाका लागि हामीले केन्द्र स्थापना गर्दैछौँ”, उनले भने, “केन्द्रमा बसेर युवाको प्रतिभा र सोच हेरेर उनीहरुलाई कुनै न कुनै पेशामा दखल बनाएर व्यावसायिक बनाउनेछौँ ।” केन्द्रमा रहेर युवाले आफ्नो सोच, ज्ञानअनुसार कुन व्यवसाय गर्न चाहने हो सोही अनुसार त्यही अध्ययन–अनुसन्धान गर्नेछन् । त्यही अनुसार ती युवालाई उक्त व्यवसायको योजनाअनुसार उद्यमशीलता बनाइनेछ ।

केन्द्रमा युवामा भएको नवीन, ज्ञान र सोचलाई छोटा वा लामो किसिमका तालीमबाट प्रस्फुटन गराई व्यावसायिक बनाइने उनले बताए । अहिले नेपालमा ४०.३ प्रतिशत युवा भए पनि नेपालमा युवा साक्षरता ७१, युवा स्वरोजगारको अवस्था ५८.८, कृषिमा संलग्न युवा ५०.५ र बेरोजगार स्नातक युवा २६.१ प्रतिशत रहेका छन् भने प्रतिवर्ष पाँच लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् ।

केन्द्र स्थापनाका लागि यस वर्ष जग्गा प्राप्ति र योजना बनाउनका लागि परिषद्ले ५० लाख र विश्वविद्यालयले ५० लाख रकम विनियोजन गरेको छ । केन्द्रमा युवाका सोच र प्रतिभाअनुसार देशभरिबाट युवालाई छनोट गर्नेछ भने विश्वविद्यालयले छनोट गरिएका युवालाई उनीहरुको सोच र प्रतिभाअनुसार उद्यमशीलता बनाउनेछ ।

परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले केन्द्र बेरोजगार युवालाई स्वरोजगार बनाउन कोशेढुङ्गा हुने बताए । “परिषद्ले छनोट गरिएका युवालाई केन्द्रमा उनीहरुको सोच, ज्ञानअनुसार छोटा वा लामो तालीमका लागि राखिन्छ”, उनले भने, “तालीमबाट उनीहरुलाई कुनै एउटा व्यवसायमा परिपक्व बनाई उद्यमशीलता गर्न योग्य बनाइन्छ ।” उक्त परियोजनाका लागि १० वर्षे रणनीति तयार पार्ने उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका विद्यमान र सम्भावित चुनौतीको पहिचान गर्ने चुनौती सामना तथा समाधान गर्नका लागि व्यावहारिक तथा उपलब्धिमूलक अनुसन्धानमा नवप्रवर्तन केन्द्रले जोड दिनेछ ।

युवालाई अनुसन्धानात्मक तथा उद्यमशील सोचको विकास गर्ने केन्द्र स्थापना गर्न थालिएको परिषद्का प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । उनका अनुसार युवाले अनुसन्धानबाट प्राप्त गरेको नवीन ज्ञान, सोच र प्रविधिलाई व्यावसायिक उद्योगमा परिणत गर्ने र ती उद्योगलाई स्थापित गर्नका लागि प्रोत्साहन गर्नका लागि केन्द्र स्थापना गर्न थालिएको हो । परिषद्ले केन्द्र सञ्चालनका लागि देश तथा विदेशका अन्य विश्वविद्यालयहरु र अन्वेषण केन्द्रहरुसँग आवश्यक समन्वय गर्ने, दिगो स्रोतको खोजी तथा व्यवस्थापन गर्नेछ ।

विश्वविद्यालयका उपप्राध्यापक दीपेश कार्कीले केन्द्रमा युवालाई उद्यमशीलता सोच्ने ठाउँका रुपमा विकास गरिने बताए । “उद्यमशीलता सोच भएको युवालाई हामीले तालीम वा अनुसन्धान गरेर पूर्ण रुपमा व्यावसायिक बनाउनेछौँ”, उनले भने, “नेपालमा यस्तो खालको परियोजनाबाट लाखौँ युवालाई स्वरोजगार बनाइनेछ ।” उनले विश्वविद्यालयले युवाको भएको दक्षताअनुसार प्रशिक्षित गराई व्यावसायिक बनाउने बताए ।

परिषद् राष्ट्रिय युवा नवप्रवर्तन केन्द्रसँग प्रदेशस्तरीय नवप्रवर्तन केन्द्रलाई अन्तरम्बन्धित बनाउन आवश्यक समन्वय गर्नेछ । अहिले परिषद्कै समन्वयमा प्रदेशस्तरीय प्रदेश नं १ को मोरङको उर्लाबारीका केन्द्र स्थापना गरिएको छ । नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमिल्सिनाले युवालाई व्यावसायिक बनाउन केन्द्र स्थापना गर्न जग्गा दिएको बताए ।