गण्डकी प्रदेश

पहिरामा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

१७ साउन, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा साउन २ गते बिहानपख गएको पहिरामा ज्यान गुमाएका परिवारलाई मर्दीखोला समाज युकेले आर्थिक सहयोग गरेको छ ।

समाज युकेका अध्यक्ष धर्मराज गुरुङको अग्रसरतामा सङ्कलित रु दुई लाख १२ हजार ४०० मृतकका बुबा र हजुरबुवालाई मर्दीखोला समाज युके आमा समूहका सल्लाहकार कमला गुरुङले हस्तान्तरण गरे । गुरुङले प्राकृतिक विपत्तिमा परेर कलिला बाबु नानीले ज्यान गुमाएको समाचारले निकै मर्माहत भएको भन्दै तन टाढा भए पनि मन आफ्नै जन्मभूमिको माटोमा रहेकाले विपद्को घडीमा सहयोगमा जुटेको बताए ।

साउन २ गते को पहिरामा १६ वर्षका कुशल विक, १४ वर्षका समीर विक र १६ वर्षकी रोजिना विकको मृत्यु भएको थियो । उनीहरु एउटै घरपरिवारका तीन भाइका छोराछोरी हुन् । बन्दाबन्दीको समयमा हजुरबुबा हजुरआमा भेट्न उनीहरु गाउँको घरमा गएका थिए ।

मृतकका हजुरबुबा प्रेमराज विकले आफ्ना तीन छोराका नातिनातिना गुमाउनु पर्दाको पीडाले निकै भावविह्वल बनाएको बताए । “कालले हामीलाई लगेन ती कलिला बाबुनानी अल्पायुमै टिपेर लग्यो । मन सम्हाल्नु कसरी ” आँखाभरिका आँशु पुछ्दै विकले भने, “यस्तो विपत्ति अब कसैले भोग्न नपरोस् ।”

वडाध्यक्ष कृष्णप्रसाद दवाडीले साउन २ गतेको पहिरोबाट वडामा तीन जनाको ज्यान गएको र नौ घर मा क्षति पुगेको जानकारी दिए । दवाडीका अनुसार तीन घर पूर्णरुपमा क्षति भएका छन् । विपद् व्यवस्थापन तथा पुनःस्थापना कोष खडा गरेर सहयोगको कार्य अगाडि बढाइएको उनको भनाइ छ ।