साहित्य

‘भ्रम’

-सागर तिमिल्सिना                                         -कविता

श्रमिकको हातबाट खोसियो
हँसिया
हथौड़ा
र, उनीहरुको विश्वास ।

गरीबको साथबाट खोसियो
भविष्य
आंकाक्षा
र, उनीहरुको आकाश ।

निष्ठाको अनन्त उज्यालोबाट खोसिदै गयो
चाहना
सपना
र, उनीहरुको इतिहास ।

यसबेला समय स्तब्ध छ
अथवा, भ्रमित।
हँसिया – हथौड़ा
सजिएका छन आलिसान महलमा ।
निदाएको छ गौरवपूर्ण ईतिहास
विलासिताको शानदार पलङ्गमा ।
विचार
चिन्तन
सिद्धान्तहरु
सत्ताको अखाडामा तैनाथ छन्
र, खेलिरहेछन बेमौसमी परेड ।