प्रदेश 2

कोरोना फैलिन नदिन भीडभाड हुने हाटबजारमा रोक

१७ साउन, लहान । सिरहाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा स्थानीय प्रशासनले रोक लगाएको छ । हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा रोक लगाएको हो ।

शहर बजार तथा ग्रामीण भेगमा भीडभाड र चहलपहल बढ्ने गरेकाले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी हाटबजार नलगाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । अत्यावश्यक काम नपरी बजार तथा हाटबजार नआउन आग्रह गर्दै प्रजिअ कँडेलले बजार तथा कार्यालय जानै परे अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्नुपर्ने बताए ।

साथै कृष्णजन्माष्टमी, रक्षाबन्धनलगायत विभिन्न चाडपर्वका बेला जिल्लाका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा हुने मेला, महोत्सवसमेत नगर्न आग्रह गर्दै प्रजिअ कँडेलले घरमै बसेर चाडपर्व मनाउन आग्रहसमेत गरे ।

छिमेकी सप्तरी र धनुषालगायत जिल्लामा तीव्र रुपमा कोरोना सङ्क्रमण फैलिन थालेपछि जोखिम बढे्काे सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रम नगर्न जिल्लाका १७ वटै स्थानीय तहलाई पत्राचार गरी आग्रह गरिएको प्रजिअ कँडेलले बताए ।

भारतीय सीमा क्षेत्रमा लुकीछिपी भइरहेको प्रवेशमा कडाइ गरिएको बताउँदै प्रजिअ कँडेलले भारतीय बजारबाट आउने जाने क्रम बढे्को गुनासो आएपछि सीमा नाका पूर्ण रुपमा बन्द गर्न कडा निर्देशन दिइएको जानकारी दिए ।