समाचार

नेपालसंग थप सहकार्य गर्ने चिनियाँ राष्ट्रपति ‘सि’ को प्रतिवद्धता

१७ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसंग हरेक कुरामा थप सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्षको अबसरमा आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई पठाएको बधाई सन्देशमा दुवै देशले एकअर्कालाई स–सम्मान समान व्यवहार गर्दै आएको बताएका छन् ।

उनले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताएका छन् ।

चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै देशका जनतालाई विकासका बृहत् प्रतिफलबाट लाभान्वित बनाउन र यस क्षेत्रको विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न नेपालसँग सहकार्य गर्न आफू तत्पर रहेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गरेका छन् ।