सुदूरपश्चिम

हिलाम्मे सडकः जोखिमको यात्रा

१६ साउन, अमरगढी । वर्षा शुरु भएदेखि जिल्लाको ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यसमाथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्र्ने वाध्यता रहेको छ ।

सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पुरयाउँछन् । जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् । गन्तव्यमा पुग्नलाई कहिले बिग्रिएको बाटो सम्याउँदै, कहिले गाडी धकाल्दै पुग्नुपर्ने बाध्यता रहेको यात्रुहरुको भनाइ छ । पानी परेपछि न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ । अरु समयमा तीन/चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्नुपरेको यात्रुहरुको भनाइ छ ।

भत्केका कारण यहाँको सवारी यात्रा जोखिम पूर्ण हुने गरेको छ । हिलाम्मे सडकमा यात्रुहरुले ठुलै जोखिम मोलेर यात्रा गर्नु परिरहेको नवदुर्गा – १ का लोकेन्द्र विकले बताए । उनले भने, “यात्रा गर्दा निकै जोखिम मोल्नु परेको छ, ठुल्ठुला दुर्घटना भईसकेका छन्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौ ।” हिलाम्मे तथा बिग्रेकै सडकमा यात्रा गर्दा दजर्नौले अकालमै ज्यान गुमाई सक्दा समेत सडकको स्तरोन्नती नभएको भन्दै स्थानियवासी आक्रोशित हुन थालेका छन् ।

जिल्लाका बागबजार–बगरकोट, बगरकोट–रुपाल, बगरकोट–भागेश्वर, ढिमौला–भद्रपुर, अनारखोली–देवल, खलङ्गा–अजयमेरु, पोखरा–बेलापुर, रडुवा–बेलापुर, रडुवा–गन्यापधुरा, राई–गन्यापधुरा, भात्काँडा–रुवाखोला, सकायल–कैलपालमाण्डौँ, उग्रतारा–अजयमेरु हुदै मेलौली, कोराल–मोई–रेल, धनकाट– कोटेलीलगायतका दर्जनभन्दा बढी ग्रामीण सडक जोखिम पूर्ण भएका छन् । वर्षातका कारण हिलाम्मे भएपछि अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।

एउटै स्थानीय तहको मुकाम पुग्न पनि आधा दर्जन सडक निर्माण भएका छन् । स्थानीय तहका गाउँ गाउँमा सडक पु¥याइएका छन । तर वर्षातमा भने मुस्किलले एउटा सडक मात्र स्थानीय तहको मुकामसम्म पुग्ने गरी सञ्चालनमा छन् । त्यो पनि जोखिम यात्रा गर्नु पर्ने उहाँको भनाइ छ । जिल्लामा निर्माण गरिएका अधिकांश ग्रामीण सडक मापदण्ड विपरित निर्माण भएका छन् । यस कारण पनि हल्का वर्षासंगै बिग्रने गरेका छन् । ग्रामीण सडकमा पर्याप्त यातायातका साधन सञ्चालन नहुँदा यहाँ उत्पादन हुने फलफूल तथा तरकारी र अन्य कृषिजन्य वस्तु पनि बजारसम्म ल्याउन नसक्दा किसान मार्कामा छन् । बजारसम्म लैजाने साधन नहुँदा किसानले फलाएका साग तरकारी बारीमै कुहिन थालेका छन् ।

खराब सडकका कारण गाडी सञ्चालकले यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेका छन् । स्थानीय तहका मुकाम वा जिल्ला सदरमुकामसम्म यात्रा गर्दा अवस्था हेरेर एक हजारसम्म भाडा तिर्नु परेको स्थानीयवासीको गुनासो छ ।

स्तरोन्नती नभएको भन्दै स्थानीवासीले सडकमा बार लगाए

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ मा पर्ने पोखरा–तिलाडी सडक मापदण्ड विपरित स्तरोन्नती गरिएकाले लगातारको वर्षाले पहिरो जाने जोखिम बढ्न थालेपछि स्थानीयवासीले सडक बन्द गरेका छन् ।

पोखरा–तिलाडी सडक वर्षेनी स्तरोन्नतीको नाममा लाखौं रकम खर्च हुने गरेको छ तर सडकको नाली व्यवस्थित गर्न नसक्दा वर्षायाममा पहिरोको जोखिम बढेपछि स्थानीयवासीले सडकमै बाँसको बार लगाएर आवतजात बन्द गरिएको स्थानीयवासी कमल कैनीले जानकारी दिए ।

आर्थिक बर्ष २०७६/०७७ मा पनि सो सडकाको स्तरोन्नतीका लागि प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएको थियो । टेण्डरमार्फत १३ लाखको ठेक्का गरि सो सडक स्तरोन्नती गरिएको थियो । पोखरा बजारबाट नालीसहितको ढल निकाल्न स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायमा आग्रह गरेपनि कुनै सुनुवाई नहुँदा वाध्य भएर सडक बन्द गर्नुपरेको अमरगढी–७ का दीपक कैनीले बताए ।