बाग्मती

काउन्सिलका अध्यक्ष श्रेष्ठद्वारा सदस्यसचिव शर्मालाई स्वागत

१६ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सदस्यसचिव किरणराज शर्मालाई स्वागत गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रमबीच काउन्सिलका सदस्यसचिव शर्मालाई कार्यवाहक अध्यक्षले स्वागत गरेको हो । उमेर हदका कारण प्रेस काउन्सिल सदस्यसचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव शर्मा आएका हुन् ।

प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्यसचिवका रुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उनी यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्यसचिवका रुपमा उनका जिम्मेवारीबारे जानकारी गराएका थिए ।