मनोरञ्जन

तीज गीतमा ‘कोरोना’

१४ साउन, बागलुङ ।   

(सवाल) ‘रातो सारी लर्काउँदै, घरमै कम्मर मर्काउँदै
शिरै फूल सजाउ भन्छु है
कोरोनाको डर छ सानु, घरमै बस्नुपर्छ सानु
मत माइत नजाउ भन्छु है’

(जवाफ) ‘सेनीटाइजर घसेर, स्कुटीमा बसेर
मत माइत जान्छु, जान्छु है…’

तीज गीतमा प्रयुक्त दम्पतीको संवाद हो यो । कोरोनाबीच तीज पर्व आएको छ । पति माइत न जाउ भन्छन्, जीवनसङ्गिनी जाने जिद्धी गर्छिन् । एकातिर कोरोनाको डर देखाउँदै घरमै बस्नुपर्ने आग्रह छ । सुरक्षित भएर माइत जाने, आमासँगै बसेर दर खाने रहर अर्कातिर छ ।

गीतले सजगतापूर्वक तीज मनाउनुपर्ने सन्देश दिन्छ ।

डराएर हुन्न सानु, कोरोनाले छुन्न सानु
दिक्क लाग्यो घरै बसेर
खुशी हुँदै बाँच्नुपर्छ, साथीसङ्गी नाच्नुपर्छ
दुईचार मिटर परै बसेर…’

तीज पर्वको छेकोमा सार्वजनिक यस गीतमा बद्री पङ्गेनी र कबिता अर्यालको स्वर छ । नवीन लामिछानेले रचना गर्नुभएको गीतमा पङ्गेनीकै सङ्गीत छ । गीतको म्युजिक भिडियोले युट्युबमा झण्डै दुई लाख भ्यूज बटुलेको छ । गायिका प्रिया भण्डारीको एकल गायन रहेको तीज गीत ‘लकडाउन’ युट्युबमा भेटिन्छ । गीतमा पनि कोरोना कहर अभिव्यक्त छ ।

‘आमाबुबा, दिदीबहिनी सुन्नुहोला दाजुभाइ
कोरोनाले केके ग¥यो भन्छु सबैलाई
कस्तो रोग आयो बरै नामै पनि कोरोना
टाढै बस्न पर्ने अरे हुन्न रे छुन…’

चिरन बरालको शब्द/सङ्गीत रहेको यस गीतमा कोरोनाले जनजीवनमा पारेको असर/प्रभावलाई उठान गरिएको छ । पुरानो तीजलयमा गायिका भण्डारीले स्वर दिनुभएको छ । एकल गायनले परम्परागत तीज गीतको झल्को दिन्छ । ‘तीज महामारी काण्ड’ अर्को तीज गीत हो जसले प्रवासी नेपालीको कथा भन्छ । प्रदेशबाट आएको छोरा आँगनछेउ आइपुग्छ । आमालाई ढोग्न खोज्छ । आमाले ढोग्न नदिइ आँगनबाटै फर्काउँछिन् । त्यो दृश्यले मन छुन्छ ।

आमा भन्छिन् – ‘किचिएकी छुनी छोरा मत पीरको भारीले
आफ्नो अर्को भन्दो रैन्छ महामारीले
केही दिन त आराम गर क्वारेन्टिनमा गएर
अनि घर बस्न हुन्छ ढुक्क भएर…’

वर्र्षौपछि छोरा घर आउँदासमेत आमा र परिवारजनमा कुनै हर्ष छैन । कोरोनाको त्रास छ । जीवनसङ्गिनी र लालाबाला पनि नभेटी क्वारेन्टिनमा जानुपर्ने बाध्यता छ । कोरोनाले निम्ताएको सामाजिक असरलाई गीतले उधिनेको छ । छोराको दुःखेसो छ –‘बल्लबल्ल फर्कि आएँ गाको तीन चार वर्षमा घरमा आउँदा कोही पनि छैनन हर्षमा….’

गीतमा पुरुषोत्तम पौडेल, शर्मिला गुरुङ, देवी घर्ती र खेम सेञ्चुरीको स्वर छ । नेत्र अर्यालको सङ्गीत रहेको उक्त गीतमा गायक सेञ्चुरीकै सङ्गीत छ । पुरुषोत्तम पौडेलको युट्युब च्यानलबाट सार्वजनिक यो गीतले हालसम्म ४० लाख बढी ‘भ्यूज’ पाएको छ ।

गायिका अञ्जु पन्तले गाएको तीज गीत ‘आमाले नदुखाउनु मन’मा कोरोनाका कारण पति गुमाउनु परेपछिको नारीको बिलौना सुन्न पाइन्छ । ‘गोरे’ नाम गरेका युवा कोरोना सङ्क्रमित भएर गाउँ फर्कन्छन् । उनी घर जान खोज्छन् । बाटैबाट उनलाई आइसोलेशन कक्षमा लगिन्छ । रोगले थलिँदै गएपछि गोरेले मृत्युवरण गर्न पुग्छन् । पति वियोगको शोकमा उनकी जीवनसङ्गिनी मूर्छित हुन्छिन् । तीजमा माइत जान नपाउँदको बेदना गीतमार्फत पोख्छिन् ।

आमाले नदुखाउन मन तीजमा छोरी आइन भनेर
बाबाले नदुखाउनु मन तीजमा छोरी आइन भनेर
जन्मेको घर सम्झेरयता मेरो मन खाइरहन्छ
वर्षेनी तीज चेलीको मन रुवाउन आइरहन्छ…’

हिजो गरिबी र भोकले मुख छोप्दै विदेशिएको गोरे आज महामारीले मुख छोपेर फर्कनुपरेको पीडादायी क्षणको वर्णन गीतमा छ । गोरेको चरित्रमा कलाकार मनोज कार्की र उनकी जीवनसङ्गिनीका रुपमा करिष्मा ढकालको अभिनय जीवन्त छ । गाउँले परिवेशमा गरिएको भिडियो छायाङ्कनले गीतमा प्राण भरेको छ । गायिका पन्तको एकल स्वर रहेको उक्त गीतमा रचना र सङ्गीत गायक/सङ्गीतकार श्रीकृष्ण बम मल्लको छ । मल्लको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतलाई दर्शक/स्रोताले रुचाएका छन् ।

गत वर्षको तीजमा बीच्च–बीचमा गीतमार्फत चर्चा कमाउनुभएका गायक दुर्गेश थापाले यसपाली कोरोनाले जनजीवनमा पारेको असरलाई लिएर तीज गीत सार्वजनिक गर्नुभएको छ । बीच्च बीचमा–२ नाम दिइएको उक्त गीतले सार्वजनिक भएको केही सातामै युट्युबमा ७१ लाखभन्दा बढी भ्यूज पाएको छ ।

कोरोना महामारी रोकथामका लागि भइरहेका प्रयासमाथि थापाले गीतमार्फत व्यङ्ग्य गरेका छन् । बन्दाबन्दीका कारण कमाइ नभएकाले तीज पर्व मितव्यवी भएर मनाउनुपर्ने सन्देशसमेत गीतले दिएको छ ।

‘बाँच्नुपर्छ कोरोना जितेर
लाउलाउ सारी पोहोरकै झिकेर
एउटा फोटो खिच
माछोमाछो भ्यागुतो यसपालिको तीज…’

गीतको म्युजिक भिडियोमा गायक थापासहित जीवन साहानी क्षेत्री, सरिता केसीलगायतका कलाकारको अभिनय छ । गाइजात्रे तीज गीतका रुपमा सार्वजनिक गायक थापाकै ‘बीच्च बीचमा–३’ लाई पनि दर्शक/स्रोताले रुचाएका छन् ।

उक्त गीतको म्युजिक भिडियोले पनि युट्युबमा ३५ लाख बढी भ्यूज कमाएको छ । गीतमा कोरोनालगायत नेपाली समाजका ज्वलन्त विषयमाथि व्यङ्ग गरिएको छ ।

गीतले भन्छ–
‘कोरोनाले लग्यो बरै पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्नी बरीलाई’
बेसार
बाध्यताको दबाइ के छर…’

कुनैताका नारीका दुःख, बेदना कहलिने माध्यमका रुपमा लिइने तीज गीतले पछिल्लो समय बहुल विषय र भावलाई मुखरित गर्न थालेको छ । विश्वलाई आक्रान्त पारिरहेको कोरोनाका अनेक पाटा, पक्षलाईसमेत यसले पकड्न भ्याएको छ ।

कतै सन्देशका रुपमा कतै व्यङ्ग त कतै दुःख, बेदनाको शैलीमा कोरोना प्रकट भएको छ । ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीतमा कोरोनाले नयाँ विषयवस्तु थपिदिएको छ । तीजको मौसमी सङ्गीत बजारमा यी खाले गीतको भिन्नै प्रभाव छ ।