आर्थिक

दैनिक सुन बढेको बढ्यै, एकतोला मूल्य पुग्यो ९९ हजार

१५ साउन, काठमाडौं । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ ।
बुधबार प्रतितोला रु ९८ हजार ५०० मा कारोवार भएको पहेँलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९८ हजार ५६० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु २० ले घटेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २२५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९६२.१५ डलर कायम भएको छ । गत आइतबार सोही परिमाणको सुन १९०१।६० मा कारोवार भएको थियो ।