प्रदेश 1

लागुऔषधको आरोपमा पोखरेल पक्राउ

१४ साउन, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । आइस नामक लागुऔषधको घरमा राखेको आरोपमा निजलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । करिब ५३० ग्राम रहेको सो लागुऔषधको मूल्य नेपाली बजारमा करोड भन्दा बढी रहेको उनले बताए ।

पक्राउ परेका पोखरेलले यो लागुऔषध भारतबाट मगाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताए । विशेष सुराकीको आधारमा हिजो पोखरेललाई घरबाटै पक्राउ गरेको बताइएको छ । विदेशमा एक ग्रामको नौ हजार ६०० मूल्य पर्ने यो लागुऔषधको नेपाली बजारमा रु एक करोड भन्दा बढी रहेको उपरीक्षक खड्काको भनाइ छ ।

प्रदेश नं १ मा नौ सङ्क्रमित

प्रदेश नं १ मा आज नौ जना कोरोना सङ्क्रमित देखिएका छन् । प्रदेशभरिमा आज ८६९ जनाको पिसिआर परीक्षण भएको थियो । थपिएका सङ्क्रमितमा मोरङका आठ र सुनसरीका एक जना रहेकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङक्रमितमा विराटनगरका तीन पुरुष, एक महिला, मिक्लाजुङमा दुई पुरुष, सुनवर्षीमा एक पुरुष, रङ्गेलीमा एक महिला र सुनसरीको धरानमा एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९७५ पुगेको छ । प्रदेशमा आजसम्म ४१ हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै प्रदेश नं– १ को राजधानी विराटनगर महानगरपालिकामा मङगलबार १६ जनामा सङ्क्रमण दखिएको थियो भने प्रदेशभरि गरी २१ जनामा सङक्रमण देखिएको थियो । सामाजिक विकास मन्त्रालयकाअनुसार सङ्क्रमण देखिनेमा मोरङमा १७, झापामा तीन र ओखलढुङ्गामा एक जनामा सङ्क्रमण पोजेटिभ देखिएको थियो । विराटनगरमा पाँच महिलासहित १६, कटहरीमा एक महिला, झापाको झापा गाउँपालिकामा दुई , विर्तामोडमा एक, ओखलढुङ्गा जिल्लाको सिद्धिचरणमा एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएसँगै सरकारले यसबाट बच्न र बचाउन आम नागरिकलाई स्वास्थ्य आचारसंहिता पालना गर्न, सामाजिक दूरी कायम राख्न र आवश्यक परे मात्र घर बाहिर जान, भीडभाडमा नजान अपिल पनि गरेको छ ।