अन्तर्राष्ट्रिय

मङ्गोलियामा शिशु कक्षा र विद्यालय सञ्चालन गर्ने तयारी

१४ साउन, उलान बटोर । मङ्गोलियाको सरकारले शिशु कक्षा र विद्यालयहरु सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका ती संस्थाहरु आगामी सेप्टेम्बर १ देखि सञ्चालन गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

“देशका सबै शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौँ,” सरकारी कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

त्यसैगरी व्यावसायिक तथा सीपमूलक प्रशिक्षण र उत्पादन केन्द्रहरुका पठन पाठन भने सेप्टेम्बर १४ देखि सुचारु गरिने अधिकारीहरुको भनाइ छ ।

उनीहरुले विश्वविद्यालयका विद्यार्थीहरुलाई अक्टोबर ५ पछि मात्रै कक्षा कोठामा फर्काउने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।

मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले तोकिएको मितिअनुसार पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उनले पठनपाठन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्ण सुनिश्चित गर्न र त्यसका लागि अपनाउनुपर्ने उपायहरु लागू गर्न पनि जोड दिएका छन् ।

अन्य कार्यालय तथा क्रियाकलापका लागि पनि उच्च सतर्कतालाई ध्यान दिन उनले सबैलाई आग्रह पनि गरेको जनाइएको छ ।

एशियाली यस मुलुकमा गत जनवरीदेखि नै शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापनको कार्य बन्द गरिएको थियो भने कोरोना भाइरसबाट बच्नका लागि सबै क्षेत्रमा निषेधात्मक व्यवस्थाहरु लागू गरिएको थियो ।

मङ्गोलियामा कोरोना भाइरसका कारण अहिलेसम्म २१९ जना मात्रै सङ्क्रमित भएका छन् । उनीहरु सबै विदेशबाट आएकाहरु रहेको सरकारी अधिकारीहरुको भनाइ छ । कोरोनाकै कारण मङ्गोलियामा अहिलेसम्म कसैको पनि निधन भने नभएको सरकारको दाबी छ ।