समाचार

चार हजार ५०० मै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’

१४ साउन, काठमाडौँ । सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ ।

सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले भोलि बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए । ललितपुरको कुपण्डोलमा रहेको उक्त ल्याबले दैनिक चार हजारभन्दा बढी नमूना परीक्षण गर्ने र पाँच घण्टामै ‘रिपोर्ट’ उपलब्ध गराउने विध म्यानेजमेन्टले जनाएको छ । प्रयोगशालामा पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेशिन जडान गरिएको छ ।

प्रयोगशालाका प्रमुख भण्डारीले कोरोना परीक्षणको दायरा फराकिलो पारी छिटोभन्दा छिटो सङ्क्रमित पहिचान गर्ने सरकारको यस अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गरिने जानकारी दिए ।

सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको भए पनि सो प्रयोगशालाले चार हजार ५०० मै कोरोना परीक्षण गर्ने जनाएको छ । “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”, प्रयोगशालाका प्रमुख भण्डारीले भने ।

कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको यस प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पुर्याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो बनाउँदै गएपछि मुलुकभर कोरोना सङ्क्रमणको जोखिम झन् बढेको छ । जसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विध म्यानेजमेन्टलाई गत असार १२ गते कोभिड–१९ परीक्षणसम्बन्धी प्रयोगशाला स्थापनाका लागि आशयपत्र दिएको थियो । आशयपत्र पाएको एक सातामा नै आफूहरुले प्रयोगशाला स्थापना गरिसकेको प्रमुख भण्डारीले बताए । यसअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले प्रयोगशालाको स्थलगत निरीक्षण गरेका थिए ।

सरकारले यसअघि स्टार अस्पताल र केएमसीलगायत सात वटालाई कोरोना परीक्षणको अनुमति दिइसकेको छ । धुम्रबाराहीस्थित ह्याम्स अस्पतालले पनि सःशुल्क कोभिड–१९ परीक्षणको अनुमति पाएको छ । ह्याम्सले शुल्क लिएर आजदेखि कोरोना परीक्षण थालिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले केहीदिनअघि मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’मा सरकारी तथा निजी प्रयोगशालामा दैनिक १८ हजार नमूना परीक्षण गर्ने गरी तयारी भइरहेको बताए ।