सुदूरपश्चिम

डोटीमा ल्याइयो पिसिआर मेशिन

१४ साउन, डोटी । कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा आज ल्याइएको छ । दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

उक्त पिसिआर मेशिनले एक पटकमा ९६ नमूना परीक्षण गर्ने र दिनमा ७०० जति नमूना परीक्षण गर्ने क्षमता रहेको कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जनाकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले गत चैतमै कञ्चनपुर, बैतडी र डोटीमा पिसिआर परीक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेअनुसार उक्त मेशिन खरिद गरी जिल्ला अस्पताल आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

जिल्लामा अहिले कूल ५८३ जना कोरोना सङ्क्रमित छन् । पिसिआर मेशिन राख्ने प्रयोगशाला पनि निर्माण कार्य सम्पन्न भएकाले यही साउन २० गतेदेखि परीक्षण कार्य शुरु गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कूल ४० लाखको लागानीमा उक्त मेशिन डोटी आइपुगेको उनले जानकारी दिए ।

यसअघि जिल्लामा कोरोना परीक्षण गर्ने मेशिन नभएका कारण कैलालीको धनगढी, डडेल्धुरामा रहेको प्रयोगशाला तथा काठमाडौँस्थित टेकु अस्पतालमा रहेका प्रयोगशालामा स्वाब पठाउने गरिएको थियो ।