बाग्मती

सम्पदा पुनर्निर्माणले फेरिँदै मध्यपुरथिमिको मुहार

१४ साउन, भक्तपुर । पुरानो सम्पदाले भरिएको नेवार बस्ती हो भक्तपुर । ऐतिहासिक पोखरी, मठमन्दिर, फल्चा (पाटी), पोखरी, ईनार, ढुङ्गेधारा, नाच, ऐतिहासिक जात्रा पर्व, परम्परागत माटोको भाडा बनाउने कला र संस्कृति मध्यपुरथिमि नगरपालिकाको पहिचान हो ।

केही वर्षयता पोखरी पुरिँदै थिए, इनार सुक्दै थिए, मठ, मन्दिर, फल्चा, लायकु दरबार जीर्ण बनेर ढल्ने अवस्थामा पुगेका थिए । त्यहीबेला पाँच वर्षअघि नेपालमा ठूलो भूकम्प आयो र ती जीर्ण सम्पदा ढलाइदियो । भूकम्पले ढलेका सम्पदा समयमा बनाउन नसक्दा त्यहीँ घाँस उम्रियो र ती महत्वपूर्णस्थल तथा सम्पदाको पहिचान मेटिँदै जाने खतरा बढ्यो ।

तर दुई वर्षयतादेखि भने मध्यपुरथिमिको कला, संस्कृति, सम्पदाले पुनर्जीवन पाउन थाल्यो । ढलेका संरचनाको पुनर्निर्माणले गति लिन थाल्यो । त्यसपछि फेरिँदैछ मध्यपुरथिमिको मुहार । वर्षौंदेखि पुरिएर हराएका पोखरी, कुवा, इनारलगायतका सम्पदाको उत्खनन र पुनर्निर्माणले पूर्णता पाउन थालेपछि मध्यपुरथिमिका सम्पदा क्षेत्र अहिले आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्न थालेको छ । अहिले मुहार फेरिएको छ यो ऐतिहासिक स्थलको ।

अरनिको राजमार्गसँगै जोडिएको वडा नं ४ शङ्खधर साख्वाः चोकको डाँडो धेरै वर्ष स्थानीयको फोहर फाल्ने थलो बन्यो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख भएर आएलगत्तै नगर प्रमुख मदनसुन्दर श्रेष्ठको सम्पदा संरक्षणको अभियान त्यहीँबाट शुरु भयो जुन अहिले बोडेसम्म पुगेको छ ।

एमपी थियटरसहितको शङ्खधर पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । यहाँ परम्परागत ढुङ्गेधारा, हरियाली पार्क, सिँढी, ठूलो शख, शङ्खधर साख्वाःको करिब १२ फिटको शालिकसहितको पार्कको निर्माण धमाधम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको एक करोडको सहयोगसहित अन्य रकम नगरपालिका आफैँले खर्चिएर पार्क निर्माणले नयाँस्वरुप पाएको नगरप्रमुख श्रेष्ठ बताए ।

प्रसिद्ध बालकुमारी मन्दिर संरक्षणको क्रममा यहाँको छाना छाउने र गजुरदेखि दोस्रो तलासम्मको छानोमा सुनको जलप लगाउने काम सकिएको छ । काठ, काठका मूर्ति, घण्टा फेरिएको उपभोक्ता समितिका अध्यक्ष भरत श्रेष्ठ बताए । कूल १३ करोड खर्च अनुमान गरिएकोमा हालसम्म एक करोड ५० लाख खर्च भएको र जसमा चन्दादाताबाट ३० लाख, वागमती प्रदेशबाट ३० लाख, नगरपालिकाबाट ६२ लाख प्राप्त भएको छ ।

बालकुमारीमै परम्परमगत शैलीमा ३८ लाख खर्चिएर नगरपालिकाले जनजागृति वाचनालय निर्माण गरेको छ भने पदयात्राको गन्तव्यका रुपमा बालकुमारीबाट बाहखाबजारसम्मको सडकमा ढुङ्गा छपाउने योजनाका लागि सिमेन्टको प्रयोग नगरी यामाटोलमार्गमा ४३ इञ्च बाक्लो ढुङ्गा छपाई गरेको छ । यहाँ आकर्षक इनार बनाएको छ ।

त्यस्तै मल्लकालीन युद्धस्थलको रुपमा मानिने पाँगुटोलमा लोप भइसकेको केकुता पुखुःलाई नगरपालिकाले पुनर्जीवन दिँदैछ । वैशाख १ गते जात्रा चलाउँदा भूत हिँड्ने बाटो भनिने र जात्रामा मान्छे मर्दा बजाइने सिँ बाजा बजाएर, टोपी फुकालेर हिँड्ने मार्गमा रहेको यो पोखरी धमाधम निर्माण भइरहेको स्थानीय संस्कृति अध्ययनकर्ता नविनप्रकाश श्रेष्ठ बताए । यो ठाउँमा देवतासमेत मर्ने किम्बदन्ती रहेको उनको भनाई छ ।

यो पोखरीसँगै रहेको जीर्ण पाटी नयाँ बनाउने, अन्य दुईवटा लोप भइसकेको पाटीलाई पुनः परम्परागत शैलीमा निर्माण गरी आगामी वैशाख १ गतेसम्म पोखरीमा पानी भर्ने योजनाका साथ काम भइरहेको नगरप्रमुख श्रेष्ठ बताए । सँगैको फोहोर फाल्ने भिरालो पाखोलाई ईयू पार्कको रुपमा दूबो र बिरुवा रोपेर आकर्षक बनाइएको छ ।

विष्णुवीर मन्दिर पछाडिको जीर्ण पाटी ५० लाखको लागतमा नगरपालिकाले पुनर्निर्माण गर्ने भएको छ । आठवटा शक्तिपीठमध्ये इन्द्रायणी पीठको पुनर्निर्माण धमाधम भइरहेको छ । पहिरोको जोखिममा रहेकाले पर्खाल लगाउने, पार्क, पाटी, शौचालय निर्माण कार्य भइरहेको छ भने मन्दिर निर्माणको काम शुरु हुने तयारीमा छ ।

जीर्ण बनेको लायकु दरबारले नयाँस्वरुप पाउँदैछ । पूर्व, उत्तर र दक्षिणतर्फको भवन धमाधम निर्माण भइरहेको छ भने रु ६५ लाखमा ताहदेव, गौरीशङ्कर मन्दिर निर्माण भएको छ ।

मध्यपुरथिमि नगरपालिकाको अर्को महत्वपूर्ण योजनाको रुपमा रहेको निगु पुखुः अर्थात दुई पोखरीमध्ये दक्षिणतर्फको पोखरी पुनर्निर्माण सकेर उद्घाटन भइसकेको छ भने उत्तरतर्फको ठूलो पोखरीमा पनि वैशाखसम्ममा पानी भर्नेगरी निर्माण कार्य धमाधम भइरहेको छ । यहाँ आकर्षक मल्लकालीन शैलीमा ढोका, फल्चा निर्माण हुँदैछ ।

त्यस्तै नगरपालिकाले गुण कीर्तिविहारको पुनर्निर्माण गरिरहेको छ । दुई करोड ५० लाखको लागतमा वडा नं ५ मा ३२ थामको आकर्षक भुँलाखेलको नित्यनाथ भजन पाटी निर्माण भइरहेको छ । त्यस्तै भूपतिन्द्र मल्लको पालाको ३३० वर्ष पुरानो दिगुविहार नगरपालिकाको ५० लाख, वाग्मती प्रदेश सरकारको ५० लाखमा पुनर्निर्माण भइरहेको छ । वडा नं ६ को यो विहारका लागि नगरपालिकाले यस वर्ष एक करोड थप गर्ने भएको छ ।

नगरपालिकाले वडा नं ५ को नासननी टोललाई जीवित सङ्ग्रहालयको रुपमा विकास गर्ने भएको छ । पर्यटकीय पदमार्गका रुपमा थिमिका परम्परागत सम्पदा तथा वस्तुको प्रतक्ष्य अवलोकन गर्न सकिने गरी जीवित सङ्ग्रहालयको रुपमा विकास गर्न कार्यालय भवन निर्माण गरी अन्य काम अगाडि बढाएको छ । प्रसिद्ध सिद्धिकाली मन्दिरमा सुनको जलपसहितको नयाँ छानो राख्नुको साथै भजन पार्टी, स–साना मन्दिरलगायतका आकर्षक संरचना निर्माण गरेको छ । बाहखाबजारमा महादेव मन्दिर पुनर्निर्माण शुरु गरेको छ ।

नगरपालिकाको वडा नं ७ भवन कार्यालय र गेटलाई परम्परागत शैलीमा निर्माण गरेको छ भने नगदेशको गुलाँः पुखु रु ५० लाखको लागतमा, नगदेशमा सिद्धिगणेश मन्दिरलाई पुरानो शैलीमा पुनर्निर्माण कार्य गरिरहेको छ । सँगै दुईवटा पाटी निर्माण भइरहेको छ । पुनर्निर्माण प्राधिकरणले स्वरुप नै बिगारेर ठेक्कामार्फत मन्दिर निर्माण गर्न खोजेपछि त्यसलाई रोकेर नगरपालिकाकै रु एक करोडको लागतमा पुरानै स्वरुपमा मन्दिर पुनर्निर्माण शुरु गरेको नगर प्रमुख श्रेष्ठ बताए ।

नगदेशमा पुरानो गाउँ पञ्चायत भवनलाई भत्काएर त्यहाँको लायकु दरबारलाई नगदेश ज्यापू सङ्ग्रहालय बनाउने भएको छ । यसका लागि त्यहीँ जोडिएको व्यक्तिको घर ४० लाखमा नगरपालिकाले खरिद गर्ने र लायकुसहितको सङ्ग्रहालय निर्माण गर्न थप ६० लाख बजेटको व्यवस्था गरेको छ ।

वडा नं ९ बोडेको खपला गेटसँगैको मन्दिरलाई दुईतला बनाउने भएको छ । वडा नं ८ कार्यालयसँगैको महालक्ष्मी मन्दिर अगाडिको पाटी र सँगैको ज्ञानविनायक विद्यालयलाई समेत मिलाएर त्यो भवन भत्काएर नेवाः सङ्ग्रहालय बनाउने भएको नगर प्रमुख श्रेष्ठ बताए ।

त्यस्तै बोडे माध्यमिक विद्यालयसँगै जोडिएको बोडे लायकु दरबारलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको छ । करिब ५० वर्षअघि नै जीर्ण बनेको यो भवन नगरपालिकाको २ करोड ५० लाखको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै बोडेको जिब्रो छेड्ने जात्रा सञ्चालन हुने पाँचो गणेशको पाटीलाई पछाडि सारेर परम्परागत शैलीमा पुनर्निर्माण गरिने भएको छ । नगरप्रमुख श्रेष्ठ पछाडिको आठ आना जग्गा खरिद गरी पाटीलाई पछाडि सारेर फराकिलो ठाउँमा जात्रा सञ्चालन गर्नेगरी पुनर्निर्माण हुन लागेको बताए ।

कैयौँ व्यक्तिको नाममा नामसारी भएको बोडेको ऐतिहासिक कमलपोखरीको नगरपालिकाले संरक्षण शुरु गरेको छ । पर्यटकीय गन्तव्य बनाउने गरी पोखरीको संरक्षण शुरु भएको उनले बताए । त्यस्तै बोडेकै प्रसिद्ध कुमारी मन्दिर क्षेत्रको नगरपालिकाले मुहार फेरेको छ । झाडी र फोहरले दलदल बनेको यहाँको भिरलाई दूबो, बिरुवा रोपेर, मन्दिर, पोखरी, सिँढी निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाइएको छ ।

नगरप्रमुख श्रेष्ठ भने, “म आएपछि यहाँको स्थानीय जनचाहना अनुसार नै सम्पदा संरक्षणमा लागेँ र मेरो पालामा धेरै सम्पदाको संरक्षण एवं पुनर्निर्माण कार्य, सङ्ग्रहालय निर्माण, कला, संस्कृति, जात्रा पर्वको संरक्षण, लोप भइसकेको पर्वको पुनःसञ्चालन गर्दै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेछु ।” उनले सम्पदा निर्माणका साथै सडक, ढल, खानेपानीलगायतका समस्या समाधानमा पनि लागिरहेको बताए ।

नगरपालिकाले मध्यपुरको सम्पदा पदयात्रा मार्गको रुपमा समेत विकास गर्न सकिने भन्दै सञ्चारकर्मीलाई पदयात्रा गराई सम्पदा क्षेत्रको अवलोकनसमेत गराएको छ । नगरपालिकाले गरेको कामको प्रत्यक्ष निगरानी र पारदर्शिताको लागि सञ्चारकर्मीलाई सम्पदा क्षेत्रको अवलोकन गराएको नगरपालिकाका प्रशासकीय अधिकृत उद्धव रिजालले जानकारी दिए ।

शङ्खधर चोकदेखि बालकुमारी, वामुने, यमा, विष्णुकुण्डल, कोरिया नेपाल मैत्री नगरपालिका अस्पताल, ईन्द्रायणी, ताचो, दथुटोल, लायकु, निगुपुुखु (दुुईपोखरी), दिगुुटोल बहाः, भूलाखेल, दथुवहा, चपाचो, सिद्धिकाली, स्वङ्गापुखु, बाहाखा, नगदेश, सिद्धिगणेश, बोडेस्थित लाय्कू, कालिका परिसरसम्म सञ्चारकर्मीलाई अवलोकन गराएको उनले जानकारी दिए ।