बाग्मती

काठमाडौँको शङ्खरापुरस्थित पटाप बस्ती पहिरोको जोखिममा

१४ साउन, काठमाडौं । काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा शुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

पहिरोले एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर उच्च जोखिममा परेको समाजसेवी शङ्कर तिवारीले जानकारी दिएका छन् ।

जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाय एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणका लागि पहलकदमी चाल्नुपर्ने उनले बताए ।

सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भन्दै पीडित यदुनाथ दङ्गालले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्ने माग गरेका छन् ।

उनका अनुसार जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारले ध्यान दिनुपर्छ । अनि मात्र क्षतिबाट बच्न सकिने उनको भनाइ छ ।