सुदूरपश्चिम

बाजुराको साँफे–मार्तडी सडकको बार्जुगाडमा भीषण पहिरो

बाजुरा, १४ साउन । लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ । सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ ।

तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य सङ्घ बाजुराले जनाएको छ ।

बाजुरामा सोमबारदेखि भीषण वर्षा भइरहेको छ । जिल्लाभरि धेरै ठाउँमा क्षति भएको हुनसक्ने बताइएको छ । भारी वर्षाका कारण जिल्लाको सञ्चार सेवासमेत अवरुद्ध भएको छ । जिल्लामा सञ्चालनमा रहेका नेपाल टेलिकमका सम्पूर्ण सेवा प्रभावित भएका छन् ।

धेरै ठाउँ फोन सम्पर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साँफे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

सडक सञ्चालन हुन अझै १५ दिन लाग्ने

लगातार वर्षा भइरहेका कारण साँफे–मार्तडी सडक सञ्चालनमा समस्या देखिएको छ । लगातारको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोले भासिएको सडक पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण सडक सञ्चालनमा समस्या देखिएको हो ।

वर्षाकै कारण हरेक दिन नयाँ विकल्पसहित सडक निर्माणको काम शुरु गर्नुपर्ने बाध्यताले सञ्चालनमा ढिलाइ हुने सडक डिभिजन कार्यालय साँफेका इञ्जीनियर दमन विष्टले बताउनुभयो । तत्कालका लागि पुरानै स्थानमा बाटो मर्मत गर्ने क्रम जारी भए पनि वर्षाले समस्या पारेको विष्टको भनाइ छ ।

असार अन्तिम सातादेखि अवरुद्ध साँफे–मार्तडी सडक अझै खुल्न सकेको छैन । सडक सञ्चालनका लागि नयाँ रुट निर्माण वा पुरानै मर्मत भन्नेमै पनि बहस जारी छ । नयाँ निर्माण गर्दा पनि पहिरोमा भासिएको र थप बाटोसमेत पहिरोले क्षतविक्षत भएर थप निर्माण गर्नुपर्ने अवस्थामा आइपुगेको छ ।

पहिरोको समस्या बार्जुगाडखोलाबाट मार्तडीसम्म दर्जनौं स्थानमा ठूला तथा साना पहिरो गएको भए पनि बल्दे–द्वारी सडक नै प्रमुख बाधक बनेको छ । बनाएको भोलिपल्ट बिग्रिने र नयाँ निर्माण गर्दा लागत खर्च बढ्ने तर उपलब्धि नदेखिने अवस्था आइपुगेको छ । जिल्लास्तरीय सरोकारवाला टोली र सडक विभागबाट प्रतिनिधि तथा प्राविधिकले नियमितरूपमा विकल्पबारे परामर्श तथा छलफल जारी राखे पनि निकास निस्कन सकेको छैन ।

डोजरले काम नियमित गरिरहेको छ, प्राविधिक आएरै नयाँ मार्ग निर्माणबारे परामर्श गरिरहेका छन् तर दिनमा काटेको बाटो राति पुनः भत्किने गरेको छ । पुरानोसहित थप नयाँ बाटोसमेत भत्किएकाले ढिलाइ हुँदै गएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । गैरे नेतृत्वको टोलीले सडकको अवस्थाबारे जानकारी लिनुका साथै सडक डिभिजन कार्यालयका प्राविधिक टोलीसँग छलफल गरेको छ ।

प्रमुख जिल्ला अधिकारीसहित तीनवटै सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलसहितको टोली द्वारी पुगेको थियो भने सडक डिभिजन कार्यालयका इञ्जीनियर विष्टसहितको टोलीबीच छलफल तथा परामर्शसमेत भएको प्रहरी नायब उपरीक्षक भट्टाराईले बताउनुभएको छ ।

छलफलबाट पुरानै सडक छेउ हुँदै बाटो निकाल्ने सहमति भएको छ । दीर्घकालीन समाधानका लागि नयाँ विकल्पबारे छलफल गरिए पनि तत्कालको समस्या समाधान गर्न पुरानै सडक छेउबाटै बाटो निर्माण गर्नेबारे छलफल भएको छ ।

पुरानै सडक छेउबाट बाटो निर्माण गरिए पनि करिब १५ दिनभन्दा बढी लाग्ने इञ्जीनियर विष्टले बताएका छन् । बाटोको अवस्था र पहिरोको मात्रा हेर्दा पानी रोकिएमा कम्तीमा १५ दिनभन्दा बढी लाग्ने र पानी निरन्तर परिरहे तत्काल भन्न सकिने अवस्था नरहेको विष्टको भनाइ छ ।

बाटो अवरुद्ध हुँदा खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामानको मूल्य बढेको छ भने यात्रा कष्टकर हुने गरेको छ । सडक विभागले आफूले निर्माण गरेको सडकबारे तत्काल अर्को नयाँ मार्ग पहिचान गरेर सडक बनाउने अवस्था नरहेको र मेशिनरी पर्खाल नै लगाएर भए पनि पुरानै बाटोलाई कायम गर्ने रणनीति अघि सारेको छ ।

पहिरोले घर बगायोे, गाउँ नै जोेखिममा

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोेले एक घर बगाएको छ । मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए ।

उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् । पहिरो निरन्तर बग्ने हो भने गाउँ नैै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताएका छन् ।