प्रदेश 1

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

खोटाङ, १४ साउन । एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो ।

रुखबाट लडेको दिनदेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्धार गरेर उपचारमा पठाइएको नगरउपप्रमुख राईले बताए । “समयमै जानकारी पाएको भए चीनमायालाई अलि छिटो उपचार गर्न सकिन्थ्यो”, नले भने, “ढिलै भए पनि उनलाई गाडी रिजर्भ गरेर राजधानी काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । मलाई चिकित्सा विज्ञानसँग भरोसा छ । उनको रोग निको हुनेछ ।”

रुखबाट लडेर रुखमै अड्किरहेकी अवस्थामा चीनमायालाई स्थानीय बासिन्दाले उद्धार गरेर घरमा लगेलगत्तै थलापरेकी उनको शरीर अहिले अनौठो देखिएको छ । शरीरमा छाला र हड्डी मात्र देखिने उनको पेट भासिएर रित्तो भाँडोजस्तै देखिएको छ । उद्धार गरेर घरमा पुर्याउनासाथ ओछ्यान परेकी उनी एकाएक बोल्न छाडेकी थिइन् । उनको कम्मरमुनिको भाग पूर्णरूपमा चल्न छोड्यो । हिँड्न र बोल्न छाडिन् । उपचार गर्न ओखलढुङ्गा र काठमाडौँसम्म पु¥याइए पनि चिकित्सकले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए ।

ओखलढुङ्गा र काठमाडौँमा उपचार सम्भव नभएपछि घरमा ल्याएर धामी/.झाँक्री अनि सामान्य घरायसी उपचार गराउँदा उनको बोली फुटेको पारिवारिक स्रोतले जनाएको छ । घरायसी उपचारपछि राम्ररी बोल्न र बाहिरी कुराको बारेमा होस राख्नसक्ने भए पनि शरीर नचल्दा दिनानुदिन उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो ।

घरायसी उपचारपछि उनले खानेकुरा खाए पनि पाचन प्रक्रियामा नपुगी मुखबाट खाएको खाना मुखबाटै फर्किने गरेको चीनमायाकी आमा खड्गमाया अधिकारी खत्रीले बताए । “खाना जति खाए पनि पेटमा अडिन्न”, उनले भने, “खाएको कुरा जस्ताको तस्तै फर्किन्छ । तर उनी खान भने कहिले अल्छी गर्दिनन् । भोक अति नै लाग्छ र खान्छिन् पनि । तर भरिने भाँडो सधैँ खाली र रित्तो हुने गरेको छ ।”

चीनमायाका बुबा रामबहादुर अधिकारी खत्रीले कान्छी आमा ल्याएर अर्कै घरमा बसेपछि आमा खड्गमाया अहिले सबै काम छाडेर छोरीको स्याहार/सुसारमा दिनरात बिताउँदै आउनुभएको छ । बिरामी छोरी चीनमायाको स्याहार/सुसारमा दिनरात खटिएकी आमा खड्गमायाले उनको उपचारमा आवश्यक रकम सहयोग गरिदिन सहयोगदाता सबैसँग अपिल गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चीनमायाको जीवनरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवं नेपाली काँग्रेसका युवानेता राजकुमार राईले बताए । युवानेता राईका अनुसार रामबहादुरकी जेठी श्रीमती खड्गमायापट्टि दुई छोरा र दुई छोरी छन् । बिरामी चीनमाया जेठीपट्टिकी कान्छी छोरी हुन् । उनीपट्टिका जेठा दाजु र ठूली दिदीको विवाह भइसकेको जनाइएको छ ।