गण्डकी प्रदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत प्रगति

१३ साउन, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भौतिक प्रगति ६२ प्रतिशत भएको छ ।

बन्दाबन्दीको अवधिमा समेत निरन्तर सञ्चालन भएको यो परियोजनाको भौतिक प्रगती ६२ प्रतिशत भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । उाका अनुसार बन्दाबन्दीका बीचमा पनि पोखरा विमानस्थलको काम निरन्तर जारी रह्यो । अहिले २४४ चिनियाँ र १०० नेपाली कामदारले सुरक्षित रुपमा काम गरिरहेका छन् । न् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाले हाल ६२ प्रतिशत प्रगति हासिल गरेको छ । निर्माण कार्य सन्तोषजनक रहेको भन्दै मन्त्री भट्टराईले महामारीका बीचमा पनि निरन्तर काममा खटिने कामदार तथा आयोजना प्रमुख र कर्मचारीलाई धन्यवाद दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलको निर्माणकार्य तीव्रताका साथ भइरहेकाले निर्धारित समयअघि नै काम सम्पन्न हुने बताए ।

उनले अहिलेको भौतिक प्रगतिसँगै प्राविधिक पक्षको कामलाई पनि प्रभावकारी रुपमा अघि बढाइने बताए । बन्दाबन्दीले अन्तर्राष्ट्रिय उडान नहुँदा आयोजनासँग जोडिएका कतिपय जनशक्ति तथा उपकरण अझै सहज भएको छैन । सरकारले भदौँ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको र नियामक निकाय तथा सरोकारवाला कम्पनीले स्वास्थ्य प्रोटोकल बनाएर सेवा सञ्चालनका तयारी गरिरहेका छन् । उडान शुरु भएपछि आयोजनाको कामले गति लिने विश्वास लिइएको छ ।

दुई हजार ५०० मिटर लामो धावनमार्ग हुने यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाइएको छ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले विसं २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माण गरिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ ।