पु.समाचार

तोकिएको समयमै जिम्मेवारी पूरा गर्नुस्ः मन्त्री खतिवडा

१३ साउन, काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कार्यतालिका अनुसार तोकिएको समयभित्रै जिम्मेवारी पूरा गर्ने परिपाटीको विकास गर्न निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित आव २०७६/७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले तोकिएको जिम्मेवारी भोलि पूरा गरौँला भन्ने भन्दा पनि अहिल्यै, आजै पूरा गर्ने सोचको विकास गर्न निर्देशन दिए ।

“भोलि गरौँला, जेठ, असारमा सबै काम गरौँला भन्दा अहिलेको अवस्था आएको हो”, कार्यतालिकाभित्र तोकिएको जिम्मेवारी सम्पन्न नसक्दाको परिणाम देखाउँदै उनले भने । आफू र मन्त्रालयका सचिव तथा मन्त्रालयका सचिव र मन्त्रालयका उच्च अधिकारी एवं मातहतका कार्यालय प्रमुखबीच भएको कार्यासम्पादन सम्झौता अनुसार काम गर्न निर्देशन दिँदै उनले मन्त्री तथा सचिव फेरिन्छन् भनी ढिलासुस्ती नगर्न आग्रह गरे । मन्त्री खतिवडाले भने, “यो संस्थागत सम्झौता हो, मन्त्री, सचिव, सहसचिव फेरिएर सम्झौता फेरिदैनन्, आफू जिम्मेवारीमा रहँदासम्म जिम्मेवार भएर काम गर्नुहोस् ।”

कानून मिचेर गरिने कामकारबाही अनियमित हुने भन्दै उनले जतिसुकै राम्रो काम गरे पनि विधि नपुगे बिग्रने बताए । मन्त्री खतिवडाले विधि प्रक्रिया पुर्याएर काम गर्न सचेत गराए । मन्त्रालय र मातहतका निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सम्बन्धित कार्यालयको बोर्डमा प्रतिनिधित्व गर्ने व्यक्तिले कुनै नयाँ निर्णय गर्नुअघि आफू माथिको जिम्मेवार अधिकारीसँग परामर्श गर्न निर्देशन दिए । “यसले मन्त्रालय र मातहतको निकायबीच थप समन्वय पैदा गर्छ”, उनले भने ।

आफू जवाफदेहितासहितको स्वायत्तताको पक्षमा रहेको उल्लेख गर्दै मन्त्री डा खतिवडाले स्वायत्तताभित्रको अराजकता स्वीकार्य नहुने र त्यो कारबाही योग्य हुने बताए । सूचना प्रविधिको बढ्दो विकासले दैनिक जनजीवनमा सहजता ल्याएको भए पनि यसको सुरक्षा र नियमनमा ढिलाइ गर्न नहुनेमा उनको जोड थियो । दूरसञ्चार सेवाको पहुँच बढाउन ध्यान दिन आग्रह गर्दै उनले भइरहेको संरचनाको मर्मत सम्भार गरेर सेवा सुचारु गर्न बजेटको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक प्रसारण संरचनाको क्षमता विकास गरेर अगाडि बढ्नुपर्ने बताउँदै उनले परिमाणसँगै गुणस्तरमा पनि सुधार गरेर जानुपर्नेमा जोड दिए । “यति भाषा, च्यानल र पानाले तब अर्थ राख्छ, जब यसबाट सम्प्रेषण हुने समाचार, सूचना, जानकारी र विश्लेषणबाट आमजनता सुसूचीत हुन्छन्”, मन्त्री खतिवडाले भने । कोभिड–१९ को महामारीबीच पनि मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको उनको भनाइ थियो ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड–१९ को विषम परिस्थितिमा पनि मन्त्रालयले औसत प्रगति गरेकोमा सन्तोष प्रकट गरे । बेरुजु फछ्र्योटमा जोड दिन आग्रह गर्दै उनले चालु आवमा बेरुजु फछ्र्योट दरलाई ५० प्रतिशतमा पुर्याउन निर्देशन दिए । “जसरी भए पनि बेरुजु फछ्र्योट दर ५० प्रतिशत पुर्याउनुस्, अहिल्यै चिठी काट्नुहोस्, यसमा मेरो सहयोग रहन्छ ।”

कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयको कार्यान्वयनमा गम्भीरताका साथ लाग्न आग्रह गर्दै उनले आगामी वर्ष मन्त्रालयको प्रगतिको सूचक ८० प्रतिशतभन्दा माथि पुर्याउनुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका उपसचिव जनकराज शर्माले सरकारको नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको कार्यक्रमलाई समयमै शुरु गर्न तथा अन्तरमन्त्रालय समन्वय गरेर काम गर्न सुझाव दिए ।

कार्यसम्पादन सम्झौता

कार्यक्रममा सरकारले लिएको लक्ष्य हासिल गर्न मन्त्रालय तथा मातहतका निकायले सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको समयमै पूरा गर्न कार्यसम्पादन सम्झौता गरिएको थियो । सञ्चारमन्त्री डा युवाराज खतिवडासँग मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कार्यसम्पादन सम्झौता गरे । यस्तै सचिव बस्यालसँग मन्त्रालयको विभिन्न महाशाखाका प्रमुख, मातहतका विभागका महानिर्देशक, निकाय, बोर्ड, संस्थान तथा समितिका प्रमुखले कार्यसम्पादन सम्झौता गरेका थिए ।

सचिवसँग कार्यासम्पादन सम्झौता गर्नुभएका विभिन्न निकायका प्रमुखले आफू मातहतका कर्मचारीसँग पनि चालु आवमा सम्पन्न गर्नुपर्ने कामका विषयमा कार्यसम्पादन सम्झौता गरेर एक महिनाभित्र मन्त्रालयमा पठाउनुपर्ने बताइएको छ ।