राजनीति

अध्यक्ष ओलीको स्थगन बेवास्था गर्दै बस्यो नेकपा बैठक, ओली एक्लिए

१३ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटीको बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटमारमा २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्यसहितको बैठकले आन्तरिक समस्या समाधानका लागि दुई अध्यक्षबीच संवाद हुनुपर्नेमा जोड दिँदै त्यसको जिम्मेवारीसमेत अध्यक्ष दाहाललाई दिएको हो । अघिल्लो स्थायी कमिटीको बैठकको निरन्तरताअनुसार नै आज बैठक बसेको र त्यसमा नियमित कार्यसूचीभन्दा पनि पार्टीको आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो तर त्यसअघि नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको जानकारी दिए ।

“आजको स्थायी कमिटीको मिति र समय यसअघिको बैठकले निर्णय गरेको थियो । पार्टी अध्यक्ष ओलीले विधि र पद्धति विपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन”, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अध्यक्ष (कमरेड केपी शर्मा) ओलीसँग छलफल गर्न अध्यक्ष दहाललाई जिम्मा दिने निर्णय गरिएको छ ।”

आजको बैठकले पार्टी एकतालाई रक्षा गर्न, विधि र पद्धति सङ्गत ढङ्गले पार्टीलाई अगाडि बढाउन र वर्तमान सङ्कटलाई सकारात्मक ढङ्गले निकास दिने गरी योगदान प¥याउन पार्टीका सबै नेता कार्यकर्ता र सदस्यलाई आफ्नो ठाउँबाट भूमिका खेल्न आह्वान गरेको छ ।

प्रवक्ता श्रेष्ठले आजको बैठकमा स्थायी कमिटीका २९ जना र दुई जना आमन्त्रित सदस्य उपस्थित भएको जानकारी दिए । नेकपाको स्थायी कमिटी ४४ सदस्यीय छ । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठकलाई विधि विपरीत अध्यक्ष ओलीले स्थगित गर्ने सूचना गरेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथले बालुवाटारमा नै उनीसँग छलफल गरेका थिए ।

छलफलका क्रममा अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुनसमेत आग्रह गरेका थिए । प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुको आग्रहलाई अध्यक्ष ओलीले स्वीकार गरेनन् ।

त्यसपछि बालुवाटारमा नै उपलब्ध स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । बैठकले पार्टी एकताको रक्षा गर्न एकताबद्ध भएर निकास दिन अध्यक्ष ओली ओलीसँग छलफल गर्ने र सहमति गर्न प्रयत्न गर्ने जिम्मेवारी अर्का अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो ।

पार्टी एकतालाई जोगाउन नेतृत्वका तहमा छलफल गर्ने र सकेसम्म निकास दिने जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “ठूलो उद्देश्यका साथ धेरै ठूलो मेहनत गरेर पार्टी एकता गरिएको हो । पार्टीभित्र सङ्कट र अप्ठ्यारा आएका छन् । अप्ठ्यारो र सङ्कटलाई समाधान गर्न सकिन्छ, धैर्य साथ विवेक प¥याएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।”

प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग छलफल गर्ने अन्य शीर्ष नेतृत्वले पनि छलफल गरी हरहालतमा पार्टी एकताको रक्षा गर्ने गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिए । उनले केन्द्रीय कमिटीले निर्णय गरेबमोजिमको मितिलाई ध्यान दिई महाधिवेशन तयारी गर्ने गरी अगाडि बढ्नेसमेत जानकारी दिए ।

बहुमतीय प्रक्रियाबाट निर्णय गर्नुभन्दा पनि सबै नेताले दिएको सुझावका आधारमा सहमतिमा नै अगाडि बढ्ने आफूहरुको प्रयत्न रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ । “हामी छिटो छिटो हतारमा निर्णय गर्न चाहँदैनौँ, सुझबुझका साथ सहमतिमा निर्णय गर्न चाहन्छौँ”, प्रवक्ता श्रेष्ठले भने, “बहुमत छ भनेर बहुमत र अल्पमत प्रक्रियाबाट छिटो निर्णय गर्नुभन्दा पार्टीको सबै नेताले दिएको सुझावका आधारमा सहमतिपूर्ण निर्णय गरौँ भन्ने प्रयत्न नै सही छ ।”

कहिलेसमम निर्णय होला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, “अहिल्यै मिति त किटान गर्न सकिँदैन । बैठकको मिति त निर्धारण भएको छैन । अध्यक्षद्वयबीच छलफल हुन्छ । हाम्रो पनि ओली र अरु कमरेडसँग छलफल हुन्छ । त्यसपछि बैठकको समय निर्धारण हुन्छ ।” उनले आफूहरु सहमतिमा नै छिटोभन्दा छिटो बैठक गर्न प्रतिबद्ध रहेको र शीघ्र निष्कर्षमा पु¥याइने जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले कोही कसैले पनि उत्तेजनामा नआउन र पार्टी एकताको पक्षमा दृढताका साथ उभिन निर्देशन दिएका थिए । पार्टीमा देखिएको समस्या समाधानका लागि पहल र प्रयत्न भइरहेको भन्दै उनले संयमित हुनसमेत आग्रह गरेका थिए । स्थायी कमिटीको अर्को बैठक सहमतिका आधारमा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको स्थायी समितिको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्थायीसमितिमा अल्पमतमा परेका छन्, उनी एक्लिएका छन्।