प्रदेश 1

कोभिड–१९ सङ्क्रमणबाट बच्न आफैँ सतर्क हुन आवश्यक

१३ साउन, विराटनगर । कोभिड–१९ सङ्क्रमणबाट बच्नका लागि आफैँ सतर्क हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कोभिड–१९ सम्बन्धी छलफलमा सरोकारवालाले वर्तमान अवस्थामा सङ्क्रमण समुदाय पूर्वअवस्थामा रहेको विचार व्यक्त गरेका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएको बताउँदै समुदायमा फैलिन नदिन आवश्यक सचेतनामा जोड दिए । उनले सङ्क्रमणसम्बन्धी सतर्कता नअपनाउनेलाई कानूनको सहारा लिएर सतर्कता अपनाउने बताए । जिल्ला समन्वय समिति मोरङगका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा सङ्क्र्मण नियन्त्रणमा नहुने बताउँदै सेवाग्राहीको अभिलेख राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

निजी अस्पताल सञ्चालकको सङ्गठन (अफिन)का प्रदेश संयोजक डा सुनिलचन्द्र अधिकारीले सङ्क्रमणबाट जोगिन अनुशासन आवश्यक रहेको उल्लेख गर्दै होम आइसोलेसनमा बस्न सक्नेलाई सरकारले सुविधा दिनुपर्ने टिप्पणी गरे । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले सीमाबाट अवैध आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक डा डेनप्रसाद आचार्यले सङ्क्रमण वृद्धिसँगै सरकारले उपचार गर्न नसक्ने भएकाले व्यक्ति आफैँ सुरक्षित एवं सचेत हुनुपर्नेमा जोड दिए । सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरङका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगरका कावा सभापति अरुण न्यौपानेले प्रदेश सरकारले परीक्षणको दायरा बढाई सङ्क्रमण क्षेत्रमा सिल गर्नुपर्ने सुझाव दिए ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा सुरेश मेहताले प्रदेशको र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको सङक्रमणको अवस्थाका बारेमा जानकारी गराए ।