प्रदेश 2

सञ्चालन भएनन् महोत्तरीका अवरुद्ध सडकखण्ड

१३ साउन, जलेश्वर । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर्दिवास, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत सदरमुकामलाई राजमार्ग तथा अन्य जिल्लासँग जोड्ने सबै सडकखण्ड लामो समयदेखि अवरुद्ध रहेका छन् ।

जिल्लाका प्रायः सबै सडकखण्डमा स्तरोन्नतिको काम भइरहेका बेला अबिरल वर्षा र पटक–पटकको बाढी आएर सडकमा कटान र डुबान गरेपछि सडक क्षतिग्रस्त भएर आवतजावत अवरुद्ध भएको छ । जिल्लाको एक सडक बाहेक सबै सडकखण्ड अहिले अवरुद्ध रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

अब विस्तारै सबैतिर पसेका बाढीका पानी घटेको, नदीका बहाव कम भएको र दुई÷तीन दिनदेखि घाम पनि लागिरहेका कारण ती सबै सडकखण्ड खुलाउनका लागि आवश्यक पहल गरिएको र सम्बन्धित निकायले कामकाज गर्न तयार समेत भएको उनले बताए । जिल्लाको विभिन्न भागमा पटक–पटक भएको भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा सानो सवारी साधन टेम्पु, अटोरिक्सा र मोटरसाइकल चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ ।

अध्यक्ष मण्डलका पत्नी र छोरासहित तीन घाइते

टाटासुमोले ठक्कर दिँदा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलकी पत्नी र छोरासहित तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा अध्यक्ष मण्डलकी पत्नी बीनादेवी, छोरा प्रिन्सराज मण्डल र भतिज राज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकबहादुर विष्टले बताए।

घाइतेमध्ये उनकी पत्नी बिना र छोरा प्रिन्सराजको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ भने भतिजो राजलाई थप उपचारको लागि बीएण्डबी अस्पताल काठमाडौँंमा लगिएको प्रहरीले जनाएको छ । सोमबार आफ्नो घर मटिहानी नगरपालिका–७ बाट मोटरसाइकलमा चढी जिल्ला सदरमुकाम जलेश्वरतर्फ आउँदै गरेका तीनै जनालाई विपरीत दिशाबाट जाँदै गरेको बा ३च ५८०२ नम्बरको टाटासुमोले जलेश्वर न पा४ स्थित सडकमा ठक्कर दिएपछि उनीहरु गम्भीर घाइते भएका हुन् । दुर्घटनापश्चात टाटासुमोका चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।