आर्थिक

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

१३ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो पहेँलो देखिने धातु बरामद गरेको हो ।

विशेष सुराकिको आधारमा प्रहरीले सुन तस्करलाई पिछा गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको प्रहरीले जानकारी दिएको छ । यद्यपी उक्त वस्तु सुन भए/ नभएको परिक्षणकालागि पठाईने भएको छ । सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ ।

पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । साथै आजै दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारेमा जानकारी दिनेभएको छ ।