आर्थिक

सुनको भाउले आपनि बनायो नयाँ रेकर्डः तोलाको झण्डै लाख पुग्दै

१३ साउन, काठमाडौं । पछिल्लो समय आकासिदै गएको सुनको मुल्य लाख नजिकै पुगेको छ । आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

कोरोना सङ्क्रमणका कारण लगातार उकालो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस १३ डलरले बढेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज १९ सय ४४ दशमलव ७० डलर प्रति औंस रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिलेको अवस्था हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यको भनाइ छ । यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।